 
                                                                        बंगलादेशमा विकसित राजनीतिक घटनाक्रमपछि सरकारले सीमा क्षेत्रबाट हुने तेस्रो देशका नागरिकको सम्भावित घुसपैठलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाएको छ ।
अन्तर्राष्ट्रिय सीमा क्षेत्रबाट तेस्रो देशका व्यक्ति अनुमतिबिना प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यानमा राखेर गृह मन्त्रालयले सुरक्षाकर्मीलाई उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको हो ।
अनुमति बिना तेस्रो देशका व्यक्ति प्रवेश गर्न सक्ने जोखिम रहेको भन्दै मन्त्रालयले त्यसलाई रोक्न सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बल ९एपीएफ० लाई निर्देशन दिएको छ । सशस्त्र प्रहरी प्रवक्ता डीआईजी कुमार न्यौपानेले सीमा क्षेत्रसँग जोडिएका सबै बाहिनी मुख्यालयहरुलाई तेस्रो देशबाट गैरकानुनी रुपमा हुनसक्ने प्रवेशलगायत गैरकानुनी गतिविधिलाई सुक्ष्मरुपमा निगरानी गर्न र सोही अनुसार सुरक्षा सतर्कता अपनाउन परिपत्र गरिएको जानकारी दिए ।
बंगलादेशबाट भारत हुँदै खास गरी कोशी प्रदेशका विभिन्न जिल्लाबाट नेपाल प्रवेश गर्न सहज मानिन्छ, यसअघि पनि तेस्रो मुलुकका व्यक्तिहरु भारतीय भूमि हुँदै अनधिकृत रुपमा नेपाल प्रवेश गरेर काठमाडौमा ‘शरण’ लिन आएका थिए ।
म्यान्मारमा सैनिक ‘कु’ पछि रोहिंग्याको समूह मेची पुल र अन्य नाका हुँदै गैरकानुनी रुपमा प्रवेश गरी काठमाडौंसम्म आइपुगेका थिए । त्यस्तै, अफगानिस्तानमा तालीवानी समूहले सत्ता हातमा लिएपछि भारतको बाटो हुँदै अफगानी पनि ‘शरणार्थी’ भेषमा नेपाल छिरेका थिए ।
नेपालको झापाबाट बंगलादेश राजधानी ढाका करीब ५ सय किमि टाढा पर्छ । नेपालका कर्णालीबाहेक ६ वटै प्रदेशका विभिन्न जिल्ला भारतसँग जोडिएका छन् ।




 
                                                 
                                                 
                                                 
                                                 
                             
                             
                             
                             
                             
                            