Birgunj News24
प्रभु साहको अध्यक्षतामा आम जनता पार्टी गठन

१४ पुष, वीरगञ्ज । रौतहट निर्वाचन क्षेत्र नं. ३ बाट स्वतन्त्र रुपमा निर्वाचित प्रतिनिधिसभा सदस्य प्रभु साहले नयाँ पार्टी गठन गरेका छन । एमाले छाडेर स्वतन्त्र निर्वाचन लडेका प्रभु साहले आम जनता पार्टी नामको नयाँ पार्टी गठन गरेका हुन।

आज बिहिबार काठमाडौंमा भेला गरेर ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरिएको सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पार्टीले प्रदेश अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारी समेत तोकेको छ ।

आम जनताको चाहना र वर्तमान समयको आवश्यकतालाई आत्मसाथ गर्दै देशलाई अग्रगमनको दिशामा अगाडि बढाउन स्वतन्त्र उम्मेदवार जिताउ अभियानलाई आम जनता पार्टीमा रुपान्तरण गरिएको अध्यक्ष साहले जानकारी दिए ।

नयाँ पार्टी निर्माणका लागि प्रभु साहलाई ब्रदी न्यौपानेले साथ दिएका छन् । न्यौपाने तत्कालीन चुरे भावर पार्टीको हुँदै एमालेको राजनीतिमा सक्रिय थिए भने चुनाव अगाडि एमाले छाडेर निष्क्रिय थिए । एमालेले जसपासँग चुनावी तालमेल गरेकोप्रति असन्तुष्टि जनाउँदै उनले एमाले छाडेको घोषणा गरेका थिए । न्यौपाने उनै हुन्, जसले तत्कालीन समयमा मधेसी जनअधिकार फोरमलाई कडा टक्कर दिएका थिए ।

न्यौपानेले प्रभुलाई नयाँ पार्टी बनाउन सहयोग गर्दा प्रभुकै अभियानमा रहेका भनिएका स्वतन्त्र सांसद अमरेश कुमार सिंहले भने सहभागी भएनन्। यसअघि साह र उनी निकटस्थले अमरेश कुमार सिंहको पनि नयाँ पार्टीमा सहभागिता रहने प्रचार गरिएको थियो । ​साहको पार्टीमा न्यौपाने बागमती र गण्डकी प्रदेश इन्चार्ज रहेका छन् ।

पार्टीले प्रदेश अध्यक्ष, सचिव र इन्चार्जको जिम्मेवारी समेत तोकेको छ । पार्टीको प्रदेश १ अध्यक्षमा हरिप्रसाद पोखरेल रहेका छन् भने इन्चार्जमा रामप्रित राम रहेका छन् । यस्तै मधेस प्रदेशमा श्रीचम मुखिया अध्यक्ष र इन्चार्ज उपेन्द्र साह रहेका छन् भने बागमतीमा नाम्गेल मोक्तान अध्यक्ष र बद्री न्यौपाने इन्चार्ज छ

यसैगरी गण्डकी प्रदेशमा राजन यादव अध्यक्ष र इन्चार्ज बद्री न्यौपाने नै रहेका छन् भने लुम्बिनीमा परमानन्द बर्मा अध्यक्ष र रितादेवी यादव इन्चार्ज छन् । यस्तै कर्णालीमा सियाराम कुश्वाहा अध्यक्ष र इन्चार्ज उपेन्द्र साह रहेका छन् भने सुदूरपश्चिम प्रदेशमा केशव राय चौधरी र इन्चार्ज कुन्दन कुश्वाहा रहेका छन् । सो पार्टीले विभिन्न जनवर्गीय संगठन तथा विभाग पनि बनाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १७:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update