वीरगञ्ज, १० पुष । ठूलो मात्रामा बहुमूल्य धातू युरेनियम जस्तो देखिने र गुणहरु भएको बस्तुसहति बारामा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित एक होटलबाट प्रहरीले शनिबार युरेनियमसहित तिनजनालाई पक्राउ गरेको हो ।
जिततपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ को जितपुरस्थित आदित्य होटलबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको इन्टेलिजेन्स व्यूरोको संयूक्त टोलीले २ किलोग्राम ६ सय ग्राम युरेनियमसहित सोही पालिकाको वडा नम्बर ३ निवासी सागर चौधरी, रवी चौधरी र रौतहटको माधवपूल नगरपालिकाको वृजकुमार सहनीलाई पक्राउ गरेको छ ।
यद्दपी, बरामद गरिएको धातू युरेनियमनै भएको अहिले यकिन भएको प्रहरीको भनाई छ । ल्याब परिक्षण पश्चात यसको पुष्टि हुने सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गण हेडक्वाटर बाराका सूचना अधिकारी एवम् सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) अमर बहादुर खत्रीले जानकारी दिए ।
युरेनियमको अवैध कारोबारीहरु होटलमा लुकिछिपी बसिरहेको सूचनाको आधारमा खटिएको होटलबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको इन्टेलिजेन्स व्यूरोको संयूक्त टोलीले उनीहरु बसेको होटलको कोठा नम्बर ४ मा छापामारी गरेको थियो ।
पक्राउ परेका तीनै जनालाई बरामद धातुसहित ईलाका प्रहरी कार्यालय सिमराको जिम्मा लगाइएको डिएसपी खत्रीले बताए ।
ऊर्जा उत्पादन, चिकित्साशास्त्र, औद्योगिक र भौगर्भिक अध्ययनमा युरेनियमको उपयोग हुन्छ । युरेनियमलाई अत्यन्त बहुमूल्य धातु मानिन्छ । युरेनियम आणविक भट्टीहरुका लागि अत्यावश्यक कच्चा पदार्थ हो । युरेनियमको अभावमा आणविक बम तथा परमाणु परीक्षण सम्भव हुँदैन ।



