वीरगञ्ज, २९ मंसिर । बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ५ इटियाहीमा परालले छोपेको अवस्थामा एक युवकको शव फेला परेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० निवासी २२ वर्षीय सुरज साह कानुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार तारले खुट्टामा बाँधेको र टिसर्टले मुख छोपेको अवस्थामा सुरजको शव फेला परेको हो ।
काटेको पराल अर्थात भुसाको थुप्रोबाट मृतकको खुट्टा बाहिर देखिएपछि बुधबार दिउँसो स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल जाँच मुचुल्का गरी शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा पठाइएको बाराका प्रहरी प्रवक्ता राजेश थापाले बताए ।
हत्याको घटनामा दुई जनाको संलग्नता हुन सक्ने आशंका प्रहरीले गरेको छ । उनीहरु मोबाइल स्वीच अफ गरी फरार छन् । शंकास्पद व्यक्तिलाई पक्राउ गर्न खोजी कार्य तिव्र पारिएको थापाले बताए ।



