Birgunj News24
फोहोर व्यवस्थापनका लागि मोबाईल एप्लिकेशन प्रयोगमा ल्याउँदै वीरगञ्ज महानगर

वीरगञ्ज ।  वीरगञ्ज महानगरपालिकाले नगरको फोहोर व्यवस्थापनका लागि मोबाईल एप्लिकेशन प्रयोगमा ल्याउन लागेको छ । द एसिया फाउण्डेशनको सहयोग र क्लिन अप नेपालको प्राविधिक व्यवस्थापनमा महानगरले मोबाईल एप्लिकेशन प्रयोगमा ल्याउन लागेको हो । 

सोमबार महानगर र क्लिन अप नेपाल बीच सम्झौता भएसँगै केही दिनमै यो एप्लिकेशन प्रयोगमा आउने मेयर राजेशमान सिंहले जानकारी दिनुभयो । 

क्लिन अप नेपालले निर्माण गरेको ‘सफा नेपाल’ नामक एप्लिकेशन एण्ड्रोइड भर्सनमा अहिले उपलब्ध रहेको छ । आउँदा दिनमा आइओएस भर्सनमा पनि निर्माण गरेर प्रयोगमा ल्याइने क्लिन अप नेपालका रविन्द्र लामिछानेले जानकारी दिए । 
यो एप्लिकेशन प्रयोगकर्ताले नगरको कुनै पनि ठाउँमा जथाभावी फोहोर फालेको देखेमा वा फोहोर जम्मा भएको देखेमा फोटो खिचेर एप्लिकेशनमा रिपोर्ट गर्न सक्ने छन् । 

यसरी रिपोर्ट गरेको फोटोको आधारमा स्थान निर्धारण गरेर फोहोर व्यवस्थापनका लागि तत्कालै महानगरको टोली खटिने छ । 

यसका साथै फोहोर फाल्दै गरेको व्यक्तिसहितको फोटो पठाए फोहोर फाल्नेको पनि पहिचान गरेर उसलाई दण्डित गरिने मेयर सिंहले बताउनुभयो । फोटो पठाउनेलाई भने नगर सफाई अभियानमा सहयोग गर्ने अभियन्ताको रुपमा हौसला बढाउन जरिवानाबाटै पुरस्कारको व्यवस्था मिलाउने पनि उहाँले बताउनुभयो । यसरी फोहोर फाल्नेको फोटो खिचेर सूचना दिनेको पहिचान भने गोप्य राखिने छ । 

महानगरको सभाकक्षमा मंगलबार महानगरका उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल, सबै वडाका वडाअध्यक्ष र सचिवहरु तथा महानगरका कर्मचारीलाई एप्लिकेशन प्रयोगका बारेमा जानकारी गराईएको छ ।

सर्वसाधारणले फोटो खिचेर पठाएका समस्या कसरी थाहा पाउने र समाधान कसरी गर्ने भन्ने बारेमा कर्मचारीहरुलाई प्रशिक्षित गर्ने काम क्लिन अप नेपालका रविन्द्र लामिछाने र विनम्र भुषालले गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण द एसिया फाउण्डेसनकी लक्ष्मी कुमारी गुप्ताले गर्नु भएको थियो ।

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  ११:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update