Birgunj News24
स्वर्गीय सर्राफको परिवारलाई वीरगञ्ज महानगरले ५ लाख आर्थिक सहयोग गर्ने 

वीरगञ्ज, २५ मंसिर । वीरगञ्जका युवा पत्रकार स्वर्गीय नरेश सर्राफको परिवारलाई वीरगञ्ज महानगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

सर्राफको १० औँ दिनको पुण्य तिथिमा आइतबार रेडियो वीरगञ्ज परिसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै महानगरका मेयर राजेशमान सिंहले परिवारको जिविकोपार्जनका लागि महानगरको तर्फबाट ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका हुन् ।

सर्राफको निधनले पर्सेली पत्रकारिता क्षेत्रमा क्षति भएको बताउँदै मेयर सिंहले उनको सम्झनामा पत्रकार महासंघ तथा पत्रकारसम्बद्ध संस्थाको अगुवाईमा स्मृति कोष खडा गर्न महानगरले १० लाख रुपैयाँ उपब्ध गराउने पनि बताए ।

यस्तै उनले स्वर्गीय सर्राफको छोरीको पठन पाठनको जिम्मा महानगरले लिने भन्दै उनको इच्छा बमोजिमको विद्यालयमा महानगरले पढ्ने व्यवस्था मिलाउने पनि बताए ।

यस्तै स्वर्गीय सर्राफको परिवारलाई रेडियो वीरगञ्जले १ लाख, समाजवादी प्रेस संगठनले १ लाख, भूमी आयोग पर्साका अध्यक्ष एवं जसपाका नेता तबरेज अहमदले ५० हजार रुपैयाँ नगद उपलब्ध गराएका छन् ।

रेडियो वीरगञ्जका अध्यक्ष ध्रुव साहको सभापतित्वमा भएको श्रद्धाञ्जलीसभामा पर्साका पत्रकार, विभिन्न राजनीतिक दलका प्रतिनिधि, व्यवसायी सहभागि रहेका थिए । कार्यक्रमको सहजीकरण समाजवादी प्रेस संगठनका पर्सा जिल्ला अध्यक्ष मनोज पटेलले गरेका थिए । 
 

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update