Birgunj News24
अव्यवस्थित तार हटाउन महानगरको अभियानमा जुटे सेवा प्रदायक  

वीरगञ्ज, २४ मंसिर ।  वीरगञ्ज महानगरपालिकाले नगरभित्र रहेका अव्यवस्थित तार व्यवस्थापन गर्न सुरु गरेको छ । 
महानगरमा सेवा प्रवाह गर्दै आएका इन्टरनेट तथा केवल टिभीका प्रतिनिधिसहितको टोलीले शुक्रबारबाट अव्यवस्थित तार हटाउन थालेको हो । 

जथाभावी टांगिएका तारका कारण नगरको सौन्दर्यता विग्रिनुका साथै दुर्घटनाको जोखिम समेत देखिएकाले व्यवस्थित गर्न महानगरले पटक पटक प्रयास गरेको थियो । 

मंगलबार मात्रै सेवा प्रदायकसँग छलफल गरेको महानगरले शुक्रबारबाट भने सेवाप्रदायकलाई सँगै लिएर तार काट्न थालेको हो । 

महानगरका मेयर राजेशमान सिंहले नगर क्षेत्रका अव्यवस्थित तार हटाउन सेवा प्रदायकलाई आग्रह गरेपछि शुक्रबारबाट हटाउन सुरु गरिएको हो ।  

शुक्रबार पहिलो दिन अव्यवस्थित तार हटाउन इन्टरनेट सेवा प्रदायक संस्थाहरु वल्र्ड लिंक र भायोनेटका प्रतिनिधि सहभागि रहेको महानगर आइटी शाखाका बृजेश प्रधानले जानकारी दिए । 

‘विद्युत तथा टेलिकमका पोलहरुमा गुजुल्टिएर राखिएका तार काट्ने अभियानमा सबै सेवाप्रदायकलाई हामीले बोलाएका थियौँ,’ प्रधानले भने, ‘आज पहिलो दिन २ वटा सेवा प्रदायकका प्रतिनिधि मात्रै सहभागि भए ।’ 

अभियानका बारेमा सबैलाई जानकारी गराएको भन्दै उनले कोही सहभागि नभए पनि तार व्यवस्थित गराउने महानगरको अभियान अब नरोकिने बताए ।
 

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update