वीरगञ्ज, २२ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले बिल विजक भन्दा बढी सामान लोड गरेको ट्रक नियन्त्रणमा लिएको छ । खुद्रा, लत्ता कपडा तथा औषधी लगायतका सामानहरू बोकेको ट्रक वीरगञ्जबाट कास्कीतर्फ गईरहेको अवस्थामा वडा प्रहरी कार्यालय वीर्ताबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले जानकारी दिए ।
उनका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ लोहारपट्टी चोक स्थित सडकखण्डबाट ना. ३ ख २७७ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिइएको हो ।
नमस्ते ट्रान्सपोर्टबाट पठाईएको ट्रकमा विल बिजक शंकास्पद देखिएपछि चेकजाँच गर्दा ६१ लाख ४६ हजार १२ रुपैया बराबरको खुद्रा, लत्ताकपडा तथा औषधीजन्य सामाग्रीहरू फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतका अनुसार नियन्त्रीत ट्रकलाई बरामद सामाग्रीसहित आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।



