Birgunj News24
ठोरीबासीले अब निःशूल्क रगत पाउने

वीरगञ्ज, १३ मंसिर ।  पर्साको ठोरी गाउँपालिकाबासीले निःशूल्क रुपमा रगत प्राप्त गर्ने भएका छन् । ठोरी गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज पर्साबिच भएको सम्झौताबमोजिम त्याहाँका बासिन्दाका लागि आवश्यक पर्ने रगत निःशूल्क रुपमा प्राप्त गर्ने भएका हुन् ।

रक्तसञ्चार केन्द्र वीरगञ्जसँग भएको सम्झौतामा ठोरीका बासिन्दालाइृ उपचारका लागि आवश्यक पर्ने रगत चिकित्सकको सल्लाहअनुसार प्रदान गर्न भनिएको छ भने त्यसको भुक्तानी ठोरी गाउँपालिकाले नै गर्ने सम्झौता पत्रमा लेखिएको छ । 

त्याहाँका बासिन्दाले चिकित्सकबाट गरिएको सिफारिसको प्रतिलिपी रक्तसञ्चार केन्द्रमा दिएर रगत प्राप्त  गर्न सक्नेछन् । यस्तै गाउँपालिकाका कर्मचारीको हकमा गाउँपालिका अध्यक्ष, स्वास्थ्य प्रमुख एवम् प्रमुख प्रशासकिय अधिकृतले सिफारिस गर्नुपर्ने छ भने सर्वसाधारणको हकमा पहिचान खुल्ने प्रमाणपत्र पेश गर्नुपर्नेछ । 

 

 

प्रत्येक महिनाको ५ गतेसम्म रक्तसञ्चार केन्द्रबाट बिरामीलाई उपलब्ध गराइएको रगतको हिसाव गाउँपालिकाको प्रतिनिधिलाई उपलब्ध गराइने पनि सम्झौता पत्रमा  भनिएको छ । 

सम्झौतामा कुनै किसिमको फेरबदल गर्नु परेमा एक पक्षले अर्काे पक्षलाई पूर्व जानकारी गराउनुपर्ने छ । रगतको ब्याग, क्रसमैच, ग्रुपिङ्ग एवम् परीक्षण वापत प्रति युनिट १ हजार ५० रुपैयाँ शूल्क गाउँपालिकाले नै तिर्ने ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए । 

 

 

सम्झौता पत्रमा गाउँपालिका अध्यक्ष श्रेष्ठ र नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बिरेन्द्रराज कँडेलले हस्ताक्षर गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  १५:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update