वीरगञ्ज, १२ मंसिर । आज सोमबार मंसिर शुक्ल पञ्चमी तिथि अर्थात विवाहपञ्चमी । त्रेता युगमा आजकै दिन भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको विश्वासमा जनकपुरमा हार्षोल्लासपूर्वक विवाहपञ्चमी महोत्सव मनाइँदै छ ।
जनकपुरमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा मनाइँने विवाहपञ्चमी महोत्सवमा राम र सीताको विवाह गर्ने प्रचलन छ । त्रेता युगमा जुन प्रकारले राम र सीताको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरमा भएको भन्ने गरिन्छ, त्यसरी नै वर्तमानमा समेत राम जानकीको डोलालाई जनकपुरमा स्वयंबर गरी वैदिक परम्परा अनुसार विवाह गर्ने परम्परा छ ।
आज दिउँसो साधुसन्तको अगुवाइमा झाँकी किर्तन सहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदान पुगेर स्वयंबर गरिनेछ ।
बाजागाज, झाँकी र किर्तनसहित निस्किने दुवै डोला बाह्रबिघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयंबर गर्ने प्रचलन छ ।
डोलाको दर्शन र रामजानकीको स्वयंबर हेर्न बाह्रबिघा मैदानमा हजारौको संख्यामा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । स्वयंबर पश्चात राम र जानकीको डोलालाई नगर परिक्रमा गर्दै जानकी मन्दिरमा पुगेर साँझ देखि विवाहको काज सुरु हुन्छ ।
राम र सीताको विवाहको लागि जानकी मन्दिर प्रांगणमा विवाह मण्डप अर्थात मरबा बनाइएको छ । राम र जानकीको विवाहको लागि जानकी मन्दिरलाई सिंगारिएको छ ।
वैवाहिक कार्यक्रममा झाँकी कीर्तणसहितको सांस्कृतिक कार्यक्रमहरु आयोजन हुने गर्दछ । जसको अवलोकनको लागि हजारौं दर्शनार्थीहरुको जानकी मन्दिरमा भीड लाग्ने गर्दछ ।
वैवाहिक कार्यक्रममा भगवान रामका बुबा राजा दशरथको भूमिकामा राम मन्दिरका महन्थ राम गिरी र सीताको पिता राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले भूमिका निर्वाह गर्दछन् ।
सप्ताहव्यापी रुपमा मनाइने सीताराम विहपञ्चमी महोत्सको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलवारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौ दिन दिन मटकोर तथा पूजा कार्यक्रम सम्पन्न भइसकेको छ ।
आज सीतारामको विवाहको कार्यक्रम सम्पन्न हुने छ । मंगलबार रामकलेवा गरी जन्ती एवं साधुसन्तालाई बिदाइ गर्दै विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन हुने जानकी मन्दिरका सह महन्त रामरोशन दास बैष्णवले जानकारी दिए ।
विवाहपञ्चमी अवलोकन गर्न नेपाल तथा छिमेक देश भारतको विभिन्न स्थानबाट आएका दर्शनार्थीले जनकपुर खचाखच भर्न थालिएको छ ।
विवाह पञ्चमीकै अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक विदासमेत दिएको छ ।



