वीरगन्ज प्रत्यक्ष तर्फको मतगणना सकिएको तीन दिन पछि मात्रै पर्सा क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधीसभा सदस्यमा नेकपा एमालेका राज कुमार गुप्ता निर्वाचित भएको आधिकारीक घोषणा गर्दै निर्वाचित भएको प्रमाणपत्र दिएको छ ।
पर्सा ३ मा प्रत्यक्ष तर्फको मतगणना सकिएको झण्डै ३ तीन दिन पछि मात्रै निर्वाचन अधिकृतको कार्यालयले गुप्ता निर्वाचित भएको आधिकारिक घोषणा गर्दै प्रमाणत्रपत्र प्रदान गरेको हो । आइतबार बिहान समानुपातिक तर्फको पनि मतगणना सकिएपछि मात्रै निर्वाचन अधिकृत योगनाथ ढकालले आधिकारीक घोषणा गर्दै गुप्तालाई प्रमाणपत्र प्रदान गरेका हुन् ।
प्रत्यक्ष तर्फको मतगणना बुधबार राति नै सकिएको थियो । तर प्रत्यक्ष तर्फ खसेको २७२ वटा मतपत्र नभेटिएको र ती मतपत्र समानुपातिक तर्फको मतपेटिकामा हुन सक्ने भन्दै निर्वाचन अधिकृत ढकालले गुप्ता निर्वाचित भएको आधिकारीक घोषणा र प्रमाणपत्र समेत दिएका थिएनन् ।
जसका कारण गुप्ता निक्कै तनावमा थिए । यसका साथै २७२ मतपत्र नभेटिदा पर्सा ३ को नजिता उल्टिेने हो कि भन्ने आकलन पनि गर्न थालिएको थियो ।
गत आइतबार मतदानका दिन पर्सा ३ मा प्रतिनिधीसभा सदस्यको प्रत्यक्ष तर्फ कूल ६४ हजार ४४८ मत खसेको थियो ।प्रत्यक्ष तर्फको मतगणनाका क्रममा भने मतपेटिकाबाट ६४ हजार १७६ मतपत्र मात्रै गनिएको थियो । यो दुवै संख्या जोड घटाउ गर्दा २७२ मत कम भएको थियो ।
तर आइतबार बिहान साढे ६ बजे तिर समानुपातिक तर्फको पनि मतगणना सकिदा , प्रत्यक्ष तर्फको गणनामा कम भएको मध्ये १५५ मतपत्र , समानुपातिक तर्फको मतपेटिकामा भेटिएको हो ।
समानुपाति तर्फको मतपेटिकाबाट प्रत्यक्ष तर्फको १५५ मतपत्र भेटिएकोमा ती मध्ये ५९ मत एमालेका गुप्ताले , काँग्रेसका चौधरीले ४३ मत र नेपाल सुशासन पार्टीका राज कुमार यादवले २२ मत पाएका छन् । बाँकी ३१ मत अन्य उम्मेदवारले पाएका छन् ।
यस अनुसार अब , पर्सा ३ मा निर्वाचित एमालेका गुप्ताले कूल २४ हजार ३१९ मतका साथ विजयी भएका छन् । , उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका चौधरीले २४ हजार १५२ मत र सुशासन पार्टीका यादवले १० हजार ५०३ मत पाएका छन् ।



