वीरगञ्ज । पर्सामा प्रतिनिधिसभा र प्रदेश सभा सदस्य गरी १२ पदका लागि १४४ जनाको उम्मेदवारी परेको छ ।
जिल्लामा चार वटा प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्र रहेको छ । तर पर्साका आधा दर्जन भन्दा उम्मेदवारहरुले आफैलाइ भोट हाल्न नपाउने भएका छन् ।
सत्तागठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले यसपटक आफैँलाई भोट हाल्न नपाउने भएका छन् । उनी क्षेत्र नम्बर ४ मा पर्ने जगरनाथपुर गाउँपालिका वडा नम्बर २ जानकी टोलाका मतदाता हुन् ।
पर्सा क्षेत्र नम्बर १ को (ख) मै सत्तागठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका रामनारायण कुर्मी पनि आफैँलाई मत दिनबाट वञ्चित हुने भएका छन् । उनी क्षेत्र नम्बर १ (क) मा पर्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपराका बासिन्दा हुन् ।
यस्तै, सत्तागठबन्धनकै तर्फबाट पर्सा क्षेत्र नम्बर २ (क) मा उम्मेदवारी दिएका कांग्रेसकै उम्मेदवार श्याम पटेलले पनि आफैँलाई मत हाल्न पाउनेछैनन् । पटेलको घर क्षेत्र नम्बर २ (ख) मा पर्ने बहुदरमाई नगरपालिका वडा नम्बर २ ध्यानसिंह पिपरामा छ ।
त्यस्तै, सत्तागठबन्धनकै तर्फबाट पर्सा क्षेत्र नम्बर ३ (क) मा उम्मेदवारी दिएका माओवादी केन्द्रका छोटेलाल यादवले पनि आफूलाई भोट हाल्न पाउँदैनन् । उनी क्षेत्र नम्बर ३ (ख) मा पर्ने बिन्दबासिनी गाउँपालिका वडा नम्बर ५ हासवाका मतदाता हुन् ।
क्षेत्र नम्बर ३ (ख) मा उम्मेदवारी दिएका कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री र एकीकृत समाजवादीका प्रहलाल गिरिले पनि आफूलाई भोट हाल्नेछैनन् । क्षेत्री क्षेत्र नम्बर ४ को जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ का र गिरि वडा नम्बर ५ का स्थायी बासिन्दा हुन् ।
सत्तागठबन्धनकै तर्फबाट क्षेत्र नम्बर ४ (ख) मा उम्मेदवारी दिएकी माओवादी केन्द्रकी चाँदतारा कुमारी क्षेत्र नम्बर १ (ख) मा पर्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ की वासिन्दा हुन् । उनले पनि आफैँलाई मत दिन पाउनेछैनन् ।



