चोरको ग्राण्ड डिजायनः काठमाडौंबाट आएर हेटौंडामा चोरी, चार जना पक्राउ, एक अझै फरार
हेटौंडा – मकवापनुरका प्रहरीले सुनका गरगहना तथा नगद रकम चोरीमा संलग्न एक समुहलाई पक्राउ गरेको छ भने एक जना फरार रहेका छन् ।पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ७ बस्ने वर्ष २८ को भिमलाल लामा, सोही स्थान बस्ने बर्ष २८ को प्रदिप तामाङ, वर्ष २९ को आकाश तामाङ र चोरी भएको सुनका गर गहनाहरु खरिद गर्ने पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं.६ घर भई हाल काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ स्थितमा रितु सुन पसल संचालन गरी बस्ने वर्ष ३१ को राजेन्द्र रसाईली रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालका अनुसार उनीहरुले गत श्रावण ३० गते विहान ११ बजेर २५ मिनेटमा हेटौडा उपमहानगरपालिका वडा नं. ९ लामसुरेधापस्थित सुशिला साउदको घरबाट नगद ३० हजार, डेढ तोलाको सुनको सिक्री १ थान, १ तोलाको सुनको बाला १ थान, एक तोलाको सुनको चन्द्रहार १ थान, ४ आनाको सुनको टप १ जोडी, २ आनाको सुनको मुद्रा १ जोडी, र १ थान घडी चारी गरेका थिए ।
साउदको घरमा कोही पनि नभएको मौकामा उनीहरुले करिब ५ लाख ३२ हजारको नगद र गरगहना चोरी गरेको प्रहरी उपरीक्षक रिजालले बताए । साउदको घरबाट चोरी गरेको गरगहना पगालेर बिक्रीको लागि तयार बनाएर राखेको अवस्थामा विभिन्न प्रकार गरगहना सहित उनीहरुलाई पक्राउ गरिएको रिजालले बताए ।
उनका अनुसार उनीहरुको साथबाट सुन जस्तो देखिने पहेलो धातुको झुम्का १ जोर, रामबिला पत्थर झुम्का १ जोर, पानवाला झुम्का १ जोर, सोली पट १ जोर, धानको बाला झुम्का १ जोर, औठी थान ४, आधुनिक झुम्का १ जोर, आयतकार झुम्का १ जोर, पिजडा मुद्रा १ जोर लगायतका सुनका गरगहना बरामद गरिएको छ । त्यस्तै प्रदेश ०२–०२८ प २४२२ नम्बरको मोटरसाईकल, विभिन्न कम्पनीका ४ थान मोवाइल र नगद २४ हजार २ सय नगद समेत बरामद गरिएको उनले बताए ।
चोरी गर्न ग्राण्ड डिजायन
चोरीमा संलग्न भिमलाल, प्रदिप, आकाश सहितको टोलीले चोरीको ग्राण्ड डिजाएन तयार बनाएर चोरी गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक रिजालले बताए । उनका अनुसार श्रावण २९ गते चोरी गर्ने उद्देश्य सहित ४ जनाको समुह काठमाडौंबाट हेटौंडा आईपुगे ।
विहान हेटौंडा आईपुगेका उनीहरुले दिउँसो बन्द रहेका घरहरुको खोजी गरे । राती हेटौडा बसपार्कस्थितमा रहेको होटलमा बसेर बसेर घर लुटपाट गर्ने योजना बनाए । भोली पल्ट बिहान ११ बजेर २५ मिनेटमा कोही नभएको समयमा साउदको घरमा पसेर नगद, सुनका गरगहना र घडी चोरी गरेको अनुसन्धानबाट खुल्न आएको रिजालको बताए ।
साउदको घर फोडेर चोरीगरेपछि उनीहरु पथलैयाबाट बर्दिवास हुँदै खुरर्कोटको बाटो श्रावण ३१ गते काठमाडौं गएको र चोरी गरेको गरगहनाहरु बिक्री गरी आएको रकमहरु एक अर्कामा बाडीचुडी गरेको उनको भनाई छ ।
फरार रहेका एक व्यक्तिको खोजी कार्य भईरहेको र पक्राउ परेका चारै जनामाथि जिल्ला अदालत मकवानपुरबाट ६ दिनको म्याद थप अनुमति दिएर अनुसन्धान अगाडी बढाईएको उनले जानकारी दिए ।



