फोटो प्रदर्शनीमा छानियो थाहाका फोटोग्राफर बिष्टको फोटो
थाहानगर, २ भदौ÷१८४ औं बिश्व फोटोग्राफी दिवस २०२३ को अवसरमा काठमाडौंको बसन्तपुरमा शनिबार आयोजित तस्बिरमा बालबालिका फोटो प्रदर्शनीमा थाहा नगरपालिकाका युवा फोटोग्राफर गणेश बिष्टले खिचेका तस्बिर पनि समाबेश भएको छ ।
राष्ट्रिय फोटो पत्रकार समूह नेपालले आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसर पारेर खेल, मनोरञ्जन र काममा खुशीका साथ सहभागी भएका बालबालिकालाई थप उत्साही बनाउने उद्देश्यकासाथ प्रदर्शनी गरिएको आयोजकले जनाएको छ । फोटो प्रदर्शनीमा राष्ट्रिय फोटो पत्रकार समूह नेपालका सदस्य समेत रहेका बिष्टको एकपांग्र्रे ठेलामा दुइजना बालबालिकालाई राखेर एकजना बालकले गुडाएको रमाईलो फोटो प्रदर्शनीमा राखिएको हो ।
बालबालिकाहरुमा खुशीयाली ल्याउन प्रदर्शनी आयोजना गरिएको राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए । ‘बालबालिकाहरु घुम्न आउने, खेल्न आउने यस ठाउँमा विभिन्न जिल्लाका बालबालिकाको क्रियाकलाप समेटिएको फोटो प्रर्दशन गरिएको हो । यसले बालबालिकामा खुशीयाली ल्याउन पनि मद्दत गर्दछ ।’– वन्तले बताए । सिविन नेपालको समन्वयमा राष्ट्रिय फोटो पत्रकार समूह नेपालले आयोजना गरेको प्रदर्शनीमा २५ जना फोटोग्राफरले बिभिन्न जिल्लामा खिचेका बालबालिकाले खुशीकासाथ गरेका क्रियाकलापका समावेश गरिएको ६० वटा तस्बिर राखिएको कार्यक्रम संयोजक घनश्याम श्रेष्ठले जानकारी दिए ।
प्रदर्शनीमा बालअधिकारको संरक्षण र प्रवद्र्धनका सन्दर्भमा समाजमा आएको सकारात्मक परिवर्तनलाई चित्रण गर्ने तस्बिरहरु राखिएको थियो । फोटो प्रदर्शनीले बालअधिकारका क्षेत्रमा भएका आन्दोलनलाई अगाडि बढाउन महत्वपूर्ण सहयोग पुगेको सिविन नेपालका संस्थापक अध्यक्ष गौरी प्रधानले बताए । ‘बालबालिका राष्ट्रका गौरव हुन्’ भन्ने मूल नारा सहित सुरु भएको प्रदर्शनीको करिव ३ हजारजनाले अवलोकन गरेको आयोजकले जनाएको छ ।



