बागमती प्रदेशमा प्रहरीको वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर, कार्यान्वयनमा काभ्रे सर्वोत्कृष्ट
हेटौंडा – बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले मातहतका १४ वटा कार्यालयहरुसंग आर्थिक बर्ष २०८०/८१ को वार्षिक कार्यसम्पादन सम्झौतामा गरेको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले बागमती प्रदेश अन्तर्गतका प्रहरी प्रमुखहरुसँग चालुआर्थिक बर्षको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा बुधबार आयोजित कार्यसम्पादन समिक्षा गएको आर्थिक बर्षको २०७९÷८० को समिक्षा पश्चिात चालुअवको कार्य सम्पादन सम्झौता गरिएको हो । कार्यक्रममा प्रदेश प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले गत आर्थिक वर्षको कार्यसम्पादन सम्झौताको समिक्षा प्रस्तुत गरेका थिए भने चालुआवको सम्झौताको बारेमा प्रकाश परेका थिए ।
त्यसपछि बागमती प्रदेश अन्तर्गतका बागमती प्रदेश प्रहरी तालिम केन्द्र , जिल्ला प्रहरी कार्यालय १०, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवन, नेपाल प्रहरी विशेष सुरक्षा गण, बागमती प्रदेश प्रहरी गण गरी १४ वटा कार्यालयका प्रमुखहरुसंग प्रदेश प्रहरी प्रमुखले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरे ।
जस अन्तर्गत जिल्ला प्रहरी कार्यालयको लागि ३७ वटा, ट्राफिकको लागि २१ वटा र अन्य कार्यालयको लागि १३ वटा वार्षिक कार्यसम्पादन क्रियाकलापहरु प्रदान गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रदेश प्रहरी प्रमुख राणाले वार्षिक कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन गर्ने, आसन्न चाडपर्व लक्षित सुरक्षा योजना बनाई प्रहरी परिचालन गर्ने लगायतको आवश्यक निर्देशन दिए ।
कार्यक्रममा गत आवको कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनमा प्रथम हुने कार्यालयहरुलाई प्रशंसापत्र तथा नगद पुरस्कारद्धारा सम्मान समेत गरिएको थियो । सम्झौता अनुसार कार्यसम्पादन कार्यान्वयमा जिल्ला प्रहरी कार्यालय काभ्रे सर्वोत्कृष्ट घोषित भयो । त्यस्तै जिल्ला प्रहरी कार्यालय नुवाकोट, धादिङ, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर कार्यसम्पादनमा उत्कृष्ट घोषित भयो



