बसको डिकीमा १ हजार ४९८ एम्पुल लागूऔषध, एक जना मकवानपुर प्रहरीको फन्दामा
हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ बाट १ हजार ४९८ एम्पुल लागूऔषध डाईजेपाम सहित बसको सहचालक पक्राउ परेका छन् ।
पूर्वपश्चिम रागमार्ग अन्तर्गत वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २३९८ नम्बरको यात्रुवाहक बसको सहचालक पर्सा धोविनी गांउपालिका वडा नं. ४ बस्ने २२ बर्षीय साकिर खानलाई लागुऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले बिहिबार साँझ शंका लागेर खानतलासी गर्ने क्रममा बसका डिक्की भित्र चामलको बोरा मुनी लुकाई छिपाई गरी ल्याईएको अवस्थामा उक्त लागुऔषध बरामद गरेको हो ।
प्रहरीका अनुसार लागुऔषध डाईजेपाम ५०० एम्पुल, फेनारगन ४९८ एम्पुल, नुफिन ५०० एम्पुल फेला परेको हो । उक्त लागूऔषध सहित खानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।



