राष्ट्रिय परिचय पत्रको त्रुटि सच्याउन पैसा तिर्नुपर्ने
हेटौंडा – जिल्ला प्रशासन कार्यालय (जिप्रका)मकवानपुरले राष्ट्रिय परिचय पत्र लिनको लागि आह्वान गरेको छ । मंगलबार प्रशासकीय अधिकृत गुणराज न्यौपानेले एक सुचना जारी गरी जिप्रका मकवानपुरबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएकाहरुलाई परिचयपत्र लिन आउँन आह्वान गरेका हुन् ।
विवरण दर्ता गराएका व्यक्तिहरु मध्ये आफ्नो मोबाईलको म्यासेज बक्समा म्यासेज प्राप्त गर्ने सेवाग्राहीहरुले परिचयपत्र कार्ड लिन आउदा आफ्नो सक्कल नागरिकता र विवरण दर्ता गर्दा उपलब्ध गराईएको निश्सा सहित जिल्ला प्रशासन कार्यालय मकवानपुरमा स्वयम उपस्थित हुन जारी सुचना भनिएको छ ।
विवरणमा त्रुटि भेटिए ५ सय तिर्नुपर्ने
राष्ट्रिय परिचय पत्रको विवरणमा त्रुटि हुन गएमा सच्याउनका लागि ५ सय दस्तुर बुझाउनु पर्ने बताईएको छ । उक्त रकम राष्ट्रिय बाणिज्य बैंकको खाता नम्बर १०००१००२०००१०००० मा जम्मामा गर्नुपर्ने सुचनामा उल्लेख गरिएको छ ।
सच्याउन दस्तुर लाग्ने भएपछि विरोध
जिप्रका मकवानपुरले राष्ट्रिय परिचय पत्रको विवरणमा त्रुटि सच्याउन ५ सय रुपैयाँ दस्तुर तिर्नुपर्ने भन्दै सुचना जारी गरेपछि सर्वधारणहरुले आपत्ति जनाएको छन् । सर्वसाधारणहरुले सामाजिक सञ्जालमा सुचना पढेपछि विभिन्न खाले विरोधका प्रतिक्रिया दिएका छन् ।
भुपाल तामाङ लेख्छन्, ‘बिगार्ने तिमीहरु, ५०० तिर्ने हामी ? बकाइदा नागरिकता दिएकै हुन्छ कसरी बिग्रिन्छ ? कि पढ्न जान्दैनन् कि, पैसा कमाउन कै लागि बिगार्छन् ।’ त्यस्तै डेविन तामाङले ‘बिगार्ने कमचारी अनि पैसा तिर्ने जनता ?’ भन्दै प्रश्न गरेका छन् । त्यस्तै भोला पौडलले लेख्छन्, ‘५०० के को दिने होर ? बिगार्नेले दिन्छ ।’



