हेटौंडाबासी सञ्चार सेवाबाट अझै बञ्चित
हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका भन्ने बित्तिकै हरेक सुविधाबाट सम्पन्न छ भन्ने बुझिन्छ । हेटौंडाबासी अझै सञ्चार सेवाबाट बञ्चित छन् भन्दा विश्वास नलाग्न सक्छ, यो यर्थाथ हो । हेटौंडा उपमहानगरपालिका वडा नं.१६ र १७ का सातबोटे क्षेत्रमा अहिलेसम्म टेलिफोन सेवा पुग्न सकेको छैन ।
२१ औँ सताब्दीको सुचना तथा सञ्चार प्रविधिको युगमा फोन गर्नका लागि आधा÷एक घण्टा हिडेर डाँडाकाडा धाउँनु पर्ने बाध्यता रहको सातबोटे दियाली दमारका ठाकुराम गुरुङ बताउँछन् । गाह्रोसारो परेको समयमा फोन बाटै हुने काम गर्न पनि धाउनुको बाहेक अरु बिकल्प नरहेको उनले बताए ।
करिब दुई सय घरधुरी रहेको सातबोटे क्षेत्र हेटौंडा उपमहानगरपालिका वडा नं.१७ वडा कार्यालयबाट करिब ६/७ किलोमिटरको दुरीमा छ । तर, कुनै पनि टेलिफोन सेवा प्रदायकले टावर नराख्दा त्यहाँका स्थानीय र त्यस क्षेत्र पुग्ने मानिसहरु सम्पर्क विहिन हुनु परेको हो ।
त्यहाँको स्थानीयबासीहरु आपतविपत तथा बिरामी भएको बेलामा एम्बुलेन्स तथा अन्य सवारीलाई समेत फोन गरेर बोलाउन नपाएको स्थानीय आरती मोक्तान बताउँछिन् । ‘हिउँदमा बाटो खुल्छ, मोटरसाइकल भएको छिमेकीलाई तेल खर्च भाडा दियो भने लगि दिन्छ,’ उनले भनिन्, ‘बर्खामा बाटो बन्द भएपछि डोको र स्टेचरमा बिरामी बोक्नु बाहेक अरु विकल्प छैन ।’
निर्वाचनको बेलामा टावर भरपर्दो टेलिफोन सेवा(टावर)को ब्यवस्थापन गर्ने आश्वासनपछि हर्सित हुँदै त्यहाँका स्थानीयले भोट दिएर जिताए । तर, पटक–पटक टावर राख्न माग गरेपनि उपमहानगरपालिका र दुसञ्चार प्राधिकरणले सम्बोधन नगरेको स्थानीयहरु बताउँछिन् ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले टावर व्यवस्थापनका लागि टेलिफोन सेवा प्रदायकसंग माग गरिएको बताइन् । त्यहाँ कहिलेसम्ममा टावरको व्यवस्थापन गर्नुहुन्छ ? भन्ने हाम्रो प्रश्नमा हेटौंडा उपमहानगरलाई स्मार्ट सिटी बनाउने योजना रहेकी मेयर लामाले भनिन्, ‘हामीले भनिरहेका छौँ, टावर हाल्ने हाम्रो काम होइन ।’



