Birgunj News24

तपाई सुर्ती–चुरोट सेवन गर्नुहुन्छ ? सावधान ! मकवानपुरको तीन पालिकामा आजदेखि प्रतिबन्ध छ

हेटौंडा – आज श्रावन १ गते सोमबार । यदी तपाई मकवानपुरको हेटौंडा उपमहानगरपालिका, बकैंया र मनहरी गाउँपालिकाभित्र रहेर सुर्तीजन्य पदार्थहरू बिक्री वितरण तथा प्रयोग गर्दै हुनुहुन्छ, भने सावधान ! विभिन्न मितिमा प्रकाशित सुचना तथा समाचार अनुसार यी तीन पालिकामा आजदेखि सुर्तीजन्य पदार्थहरू बिक्री वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाईएको छ । 

यी तीन पालिकामध्ये बकैयामा आजदेखि मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ विक्रीबितरण र प्रयोग गर्न समेत पाइने छैन । बकैंया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले एक सुचना जारी गर्दै श्रावन १ गतेदेखि रक्सी र सुर्तीजन्य पदार्थ खरिदबिक्री तथा प्रयोग गरे सामान जफत गरी कारवाही गर्ने बताएका थिए । सार्वजनिक पदधारण गरेकाले उक्त प्रतिबन्धित बस्तु उपभोग गरे सार्वधारणको हकमा भन्दा दोब्बर कारवाही हुने उनले जारी गरेको सुचनामा पढ्न सकिन्छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रण एवं नियमन ऐनलाई टेकेर बनाएको निर्देशिकाका आधारमा हेटौँडा उपमहानगरपालिकालाई सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न लागिएको प्रवक्ता सबिन न्यौपानेले बताए । सार्वजनिकस्थलहरू विद्यालय, सरकारी कार्यालय, अस्पताल जस्ता क्षेत्रको एक सय मिटर क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बेचबिखन र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाउन उपमहानगरले आजैबाट अभियान सुरु गरेको बताईएको छ ।

उक्त निर्देशिका उपमहानगरले २०७७ मा बनाएको थियो । नियम उल्लङ्घन गर्नेलाई निर्देशिका अनुुुसार २५ हजारदेखि ५० हजारसम्म जरिवाना हुने ब्यवस्था रहेको छ । पहिल्यैदेखि नै यो कानुनको निर्माण भएपनि प्रभावकारी कार्यान्वयन भने हुन सकेको थिएन । सो कानुन कार्यान्वयनमा उपमहानगर लागि परेको छ ।

त्यस्तै मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै मनहरी क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने घोषणा गरेको थियो । मानवीय स्वास्थ्यलाई हानी पुर्‍याउने भएकाले सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update