हेटौंडाबाट एक दम्पती सहित ६ जना पक्राउ
हेटौंडा – हेटौंडाको विभिन्न स्थानमा विभिन्न थरिका लागुऔषध सहित ६ जना पक्राउ परेका छन् ।
हेटौंडा उपमहानगरपालिका–८, कमानेबाट लागुऔषध खैरो हिरोईन तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३१ वर्षीय बिशाल रावत, १८ वर्षीय सुमित वाईबा र हेटौंडा–१०, न्यूरेनी बस्ने ३२ वर्षीय बिमल भोलन रहेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले कमानेस्थित रावतको घरमा चेकजाँचको लागि पुगेको थियो । भोलनको साथबाट र रावतको घर कोठाको दराजबाट खैरो हिरोईन २५ ग्राम, जोख्ने काँटा थान, नगद ५ हजार र ५ थान मोवाईल बरामद गरिएको बामगती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
त्यस्तै हेटौंडा उपमहानगरपालिका वडा नं.१० बसपार्कबाट लागुऔषध सहित श्रीमानश्रीमती पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत, उत्तर प्रदेश बलिया गरवार बिसुकिया बस्ने ३४ वर्षीय को हनुमान विंद र उनको श्रीमती ३५ वर्षीया सर्मिला मण्डल रहेका छन् ।
प्रहरी चौकी बसपार्क मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागुऔषध सहित पक्राउ गरेको हो । हेटौंडा बसपार्कस्थित वीरगञ्ज जाने काउण्टर नजिकै शंकास्पद रुपमा बसिरहेका विंद र मण्डललाई चेकजाँच गर्दा दुई वटाबाट १४ किलोग्राम लागुऔषध गाँजा बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
त्यसैगरी हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेबाट हेटौंडा–११ बस्ने १९ वर्षीय सागर घिमिरे रहेका छन् । रातोमाटेस्थित चेक प्वाईन्टमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०३–००१ ग ३१५ नम्बरको ईलेक्ट्रोनिक माईक्रो गाडीमा सवार घिमिरेको साथबाट लुप्रिन १०, डाईजोपाम १० र सुनारगन १० लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
६ नै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।



