बागमतीमा डेङ्गुले महामारी रुप लिन सक्ने, लामखुट्टेको लार्भा, प्युपा स्रोतमै नष्ट गर्न सुझाब
हेटौंडा – बागमती प्रदेशमा डेङ्गु रोगको सङ्क्रमणले महामारीको रूप लिने सक्ने देखाएको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडाको प्राविधिक सहयोगमा गरेको अध्ययनमा रोकथाम र नियन्त्रणका उपाय नअपनाइए गत वर्षझैँ यस वर्ष पनि डेङ्गु रोगको सङ्क्रमणले महामारीको रूप लिने देखिएको हो ।
महामारी फैलन नदिन डेङ्गु रोग सङ्क्रमण गर्ने लामखुट्टेको लार्भा, प्युपा स्रोतमै नष्ट र नियन्त्रण गर्नुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् । प्रदेशको स्वास्थ्य मन्त्रालयले हेटौंडामा आयोजना गर्दै बागमती प्रदेशका जिल्लाहरूमा किटजन्य रोगको सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेकोे थियो । अध्ययनमा भेटिएको डेङ्गु रोग सङ्क्रमण गर्ने लामखुट्टेको लार्भाको सूचकाङ्क डेङ्गु रोग महामारीको सूचक भएको बताइएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।
प्रदेशका विभिन्न पाँच स्थानमा ५४७ घरधुरी र पानी जम्मा भएका एक हजार ६२३ भाँडाको पानी परीक्षण गर्दा डेङ्गु पोजेटिभ न्यूनतम सीमाभन्दा बढी पाइएको कार्यक्रममा किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले जनाएको छ ।रोकथाम र नियन्त्रण कार्यक्रम अन्तर्गत बर्खा सुरु हुनुभन्दा अगाढिनै गरिएको सर्वेक्षणमा डेङ्गु पोजेटिभ सीमाभन्दा बढी डेङ्गु सङ्क्रमण देखिएको केन्द्रका सहायक इन्टोमोलोजिस्ट दीपक शाहले जानकारी दिए। रोकथाम र नियन्त्रणका प्रयास सुरु नभएमा यसले गत वर्षभन्दा भयावह अवस्था निम्त्याउन सक्ने उनले बताए ।
लामखुट्टेको टोकाइबाट डेङ्गु सङ्क्रमण हुने दर ५४७ घरधुरी सर्वेक्षण गर्दा २४.३१ प्रतिशत, पानी जम्मा भएका एक हजार ६२३ भाँडाको पानी जाँच गर्दा १०.४७ प्रतिशत र प्रति सय घरधुरी अर्थात् बीआईको सूचकाङ्क ३१.०८ प्रतिशत रहेको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ।
बागमती प्रदेशमा चालु आर्थिक बर्षको ८ महिनामा ४२ हजार ५०७ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो डेङ्गुकै कारण २७ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



