पशुपतिनाथ माविका ६० जनालाई शैक्षिक सामग्री
हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविका ६० जना बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको छ । कोरियामा अध्ययन गरिरहेका नेपाली विद्यार्थीको समूहले विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको हो ।
स्थानीय जनजागरण युवा क्लबको समन्वयमा कक्षा १ देखि ५ सम्मका ६० जना बालबालिकालाई शैक्षिक सामग्री, स्कुल ब्याग हस्तान्तरण गरिएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतम, जनजागरण क्लबका अध्यक्ष बालमुकुन्द ढकालले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए । विद्यालय ब्यवस्थापन समितिका पूर्बअध्यक्ष मानबहादुर बिष्टका परिबारले कोरियाबाट शैक्षिक सामग्री सहयोग उपलब्ध गराएका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्य, शिक्षक रामचन्द्र तिमल्सिना, कलावती गौतम, क्लबका उज्ज्वल बिष्टलगायतका सहभागिता रहेको थियो । पशुपतिनाथ माविमा ५ सय १५ जना बालबालिका अध्ययन गरिरहेका छन् ।



