Birgunj News24

हेटौंडा अस्पातलको बजेटमा कटौती, नेकपा एमालेको आपत्ति

हेटौंडा – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट कटौती गरेपछि मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा कार्यरत २१४ जना कर्मचारी हटाइने भएको छ । बजेट अभावका कारण आगामी आर्थिक वर्षमा तलब भत्ता वितरणमा समस्या हुने भएपछि स्वास्थ्यकर्मी तथा कर्मचारी गरी २१४ जनशक्ति कटौतीको गर्न लागेको हो ।

प्रदेश सरकाले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रतिष्ठानको ७ करोड १९ लाख रुपैयाँ बजेट कटौती गरेको छ । प्रदेश सरकारले बजेट भाषण मार्फत आगामी आर्थिक वर्षमा प्रतिष्ठानका लागि १२ करोड ३२ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्रतिष्ठानको लागि १९ करोड ५१ लाख रुपैयाँ र सेवा विस्तार तथा उपकरण खरिदका लागि ५ करोड बजेट विनियोजन गरेको थियो । सङ्घीय सरकारबाट यस वर्षका लागि प्रतिष्ठानको शैक्षिक भवन निर्माणका लागि ९७ करोड रुपैयाँ विशेष अनुदान प्राप्त गरेको थियो । त्यस्तै सङ्घीय सरकारले प्रतिष्ठानका लागि ६ तले अस्पताल निर्माण गर्न ३२ करोड रुपैयाँ विशेष अनुदान मार्फत बजेट विनियोजन गरेको थियो ।

नेकपा एमाले मकवानपुरले हेटौंडा अस्पतालको लागि न्युन बजेट छुट्याएको प्रती बागमती प्रदेश सरकारलाई ध्यानार्कषण गराएको छ । सोमबार विज्ञप्ति मार्फत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई जागिरबाटै निकाल्ने, बजेट कटौती गरेर अस्पतालको सेवा प्रभावित बनाउने र अति महत्वपूर्ण स्वास्थ्य संस्थालाई तहसनहस बनाउने उद्देश्यले जनभावना विपरित काम गरिरहेको भन्दै ध्यानार्कषण गराएको हो । 

स्वास्थ्य जस्तो संवेदनशील विषयमा सबैको अभिभावक बन्नु पर्ने सरकार नै नागरिकहरुको स्वास्थ्यमा खेलबाड गरिरहेको एमाले मकवानपुरले विज्ञप्तिमा भनेको छ । विज्ञप्तिमा अदालतबाट भएको आदेशको अवहेलना गर्दै तथा सरकार आफैले बनाएको कानूनको समेत उल्लङ्घन गर्दै हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट पुन अलग्याउने कुचेष्टा भइरहेकोले यस्ता दुष्प्रयत्नहरु तत्काल रोक्न आग्रह समेत गरिएको छ ।

प्रतिष्ठानलाई विनियोजन हुँदै आएको बजेट कटौती गरेर अस्पतालको उपचार सेवामा असन्तुलन ल्याउने काम बन्द गर्न र प्रतिष्ठान एवं अस्पतालमा कार्यरत कर्मचारीहरुको पेशागत सुरक्षा गर्न एमाले मकवानपुरको माग रहेको छ । गुणस्तरीय स्वास्थ्य सेवा मकवानपुरबासीको सदियौंको सपनामाथि धावा नबोल्न चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update