हेटौंडामा १ करोड ५५ लाखको अबैध कपडा बरामद
हेटौंडा – मधेश प्रदेशबाट बागमती प्रदेश प्रवेश गर्ने हेटौंडाको चुरियामाई प्रमुख नाकाबाट प्रहरीले ठुलो परिमाणमा भन्सार छलि गरेर ल्याईको कपडा सहित दुई जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरकी इन्चार्ज बरिष्ठ प्रहरी निरीक्षक मञ्जु कुमारी रानाको नेतृत्वमा खटिएको प्रहरीको टोलीले आइतबार प्याजलोड भएको भारतीय ट्रकबाट ९० बोरा अबैध कपडा सहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ट्रक चालक भारत पञ्जाब राज्य लोदियान जिल्ला ग्राम रसलपुर वडा नं.७ बस्ने ३३ वर्षीय रन्जौद सिंह र सह–चालक बिहार राज्य मोजफरपुर जिल्ला ग्राम माहामाद बस्ने २६ बर्षीय सुधिर मुकार सहनी रहेका छन् ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत सिराहाबाट हेटौंडातर्फ आउँदै बीआर ०६ जिई ५०५३ नम्बरको भारतीय ट्रकलाई प्रहरीले आइतबार साँझ हेटौंडा–१५ स्थित रातमाटे चेकपोष्टमा रोकेर चेकजाँच गरेको थियो ।
उक्त ट्रकबाट पाइन्टको कपडा १२ हजार ८९६ मिटर कपडा, सुटको कपडा ६० प्यकेट, सर्टको कपडा ६ हजार ७०५ मिटर, कुर्थाको कपडा १०३ सेट र कोरा कपडा १ हजार ४९७ मिटर वरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।
काकीका अनुसार उक्त कपडा १ करोड ५५ लाख ६९७ बराबरको रहेको छ । ट्रकमा रहेको ८४ क्वीन्टल प्याजको मुल्य २ लाख ५२ हजारको रहेको उनले बताए ।
ट्रक, प्याज, अबैध कपडा र ट्रक चालक र सहचालकलाई नियन्त्रणमा लिएर मुख्य कपडा धनीको खोजी कार्यभइरहेको प्रवक्ता कार्कीले बताए । आवश्यक कारवाहीका लागि बरामद सामानलाई भन्सार कार्यालय काठमाडौं पठाउने तयारी भइरहेको उनले बताए । कपडा धनीलाई पनि नियन्त्रणमा लिएर सार्वजनिक गर्ने उनको भनाई छ ।



