हेटौंडामा पानीको हाहाकार
हेटौंडा – अत्याधिक गर्मीका कारण जनजिवन कष्टकर बन्दै भएको छ । स्वास्थ्यकर्मीहरु गर्मीले गर्दा हुने स्वास्थ्य समस्याबाट जोगिन प्रशस्त मात्रामा पानी पिउन पर्ने बताउँछन् ।
तर विडम्बना बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्य बजार क्षेत्रको घरहरुमा पिउन पुग्ने पानी आउनै छाडेको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. १ र २ को अधिकांश क्षेत्रको घरका धारामा एकहप्तादेखि निकै कम पानी आउन थालेको छ ।
सो क्षेत्रमा पहिले हरेक दिन विहान बेलुका तीन/तीन घण्टाको दरले धारामा पानी आउने गरेको थियो । तर अहिले १० मिनेट पनि धारामा पानी नआउने स्थानीय व्यवसायी सुशिला न्यौपानेले बताईन् । ‘यस्तो गर्मी छ, धारामा पिउन पुग्नेसम्म पानी पनि आउँदैन,’ उनले भनिन् । चर्को मुल्य तीरेर पानी किन्नु परेको उनले गुनासो गरिन् ।
बर्षा नहुँदा मुहानमा पानी घट्यो
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका कार्यबहाक कार्यकारी निर्देशक बिष्णु प्रसाद सापकोटा समयमै बर्षा नहुँदा मुहानमा पानीको मात्रा घट्दै गएकोले खानेपानी अभाव देखिएको बताउँछन् । सामरी र बुङ्दोल खोलामा रहेको पानीको मुहानबाट पहिलेको तुलनामा निकै कम पानी संकलन हुने गरेको सापकोटाले बताए ।
सापकोटाका अनुसार वडा नम्बर २ र वडा नम्बर १ को चौकीटोल क्षेत्रमा पानीको आपूर्ति कम भएको छ भने उपमहानगरको अन्य क्षेत्रमा कम छैन ।पानी न्युन आपुर्ति हुने क्षेत्रहरूमा आफुहरुले ट्याङकरबाट समेत पानी वितरण गर्दै आएको उनले बताए । सामरी खोलामै अर्को मुहान खोजी गरेर पानी ल्याउने तयारी भइरहेकोले केही दिनमै पानी अभाव समस्या समाधान हुने उनको भनाई छ ।
पाइप लाईनमा मोटरको प्रयोग
पानी अभावको मुख्य कारण केही ग्राहकहरुले मुख्य पाइप लाइनबाटै पानी तान्न मोटरको प्रयोग गर्नु पनि हो । किनकी मोटर प्रयोग गरेर पानी तान्दा मोटर प्रयोग नभएका घरसम्म पुग्ने पानी बहाव कम हुन्छ । बहाव नपुग्दा घरको धारासम्म पानी पुग्दैन ।
अनुगमन शुन्य
नियमले सिधै मुख्य पानीको पाइपमै मोटरको प्रयोग गरेर पानी तान्न पाइदैन । तर खानेपानी ब्यवस्थापन बोर्डको त्यसतर्फ ध्यान गएको छैन । आफुहरु खानेपानी अभाव समाधानमा व्यस्त भएको कारण अनुगमन गर्ने समय नभएको कार्यवहाक कार्यकारी निर्देशक सापकोटाले बताए ।
स्मरण रहोस्, हेटौंडामा पानी अभाव भएको क्षेत्र सरकारी कार्यालयहरुको हब हो । प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री, जिल्ला प्रशासन, हेटौंडा उपमहानगरपालिका, अड्डा अदालतदेखि खानेपानी व्यवथापन बोर्डको कार्यालय समेत यही रहेको छ ।



