वनको कर्मचारीलाई शिवमको धुप, अनुगमन प्रतिवेदन सँधै गुपचुप ?
हेटौंडा – शिवम सिमेन्ट उद्योगको चरम लापरबाहीपूर्वक गरिएको प्राकृतिक दोहनको अनुगमन तथा निरीक्षण गर्न आउनेहरुको लर्को देखेपछि स्थानीयलाई लाग्छ, अब केही सकारात्मक परिबर्तन हुन्छ । तर, वास्तवमा ‘अनुगमन हैन, पैसाको बार्गेनिङ गर्न आएको’ जस्तो मात्र भएपछि स्थानीय पनि हैरान भएका छन् ।
शिवमले २०६४ देखि २०७३ सालसम्म बिना सम्झौता चुनढुङ्गा उत्खनन् गरिरहेको छ । २०७४ र २०७८ मा सम्झौता गरेर उत्खनन् सुरु ग¥यो तर, सम्झौतामा भनेबमोजिम व्यवस्थित भने छैन । विगत १५ बर्षदेखिको अब्यवस्थित उत्खननले खानी क्षेत्र र तटीय क्षेत्रका स्थानीय प्रताडित छन् ।
सरोकारवाला निकायमा स्थानीयले बर्षेनी उजुरबाजुर गर्ने गरेका छन् । जेनतेन अनुगमन पनि हुने गरेको छ । तर, अनुगमन प्रतिवेदन गुपचुप राख्दा र सम्झौता कार्यान्वयनमा ध्यान नदिदा समस्या जिउँको तिउँ छ ।
सास छौँन्जेल आस सबैलाई हुन्छ, प्रताडित स्थानीयले गत माघ १८ गते वडा, वनदेखि मुख्यमन्त्री कार्यालयसम्म ११ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका थिए । जसमा डिभिजन वन कार्यालय मकवानपुर र वडा कार्यालयबाट अनुगमन गरे जस्तो गरिएको थियो । वडा कार्यालयबाट शीर न पुच्छरको प्रतिवेदन सार्वजनिक हुँदा डिभिजन वन कार्यालय मकवानपुर भने कानमा तेल हालेर बसेको छ ।
अनुगमनका लागि वनले सव–डिभिजन वकैया र मकवानपुरगढीबाट प्राविधिकसहितको टोली खटाएको थियो । महिनौँ वित्दा समेत प्रतिवेदनको अत्तोपत्तो छैन । यतिका समयमा वित्दा पनि प्रतिवेदन सार्वजनिक नहुँनुले, ‘कतै उद्योग र वनका कर्मचारीबीच सेटिङ त छैन ?’ स्थानीयले शंकाको प्रश्न उठाएका छन् । ‘अनुगमन भएको महिनौँ वित्दा पनि किन प्रतिवेदन सार्वजनिक भएन, वनका कर्मचारी र उद्योगवीच लाभको मिलोमत्तो छ कि ?’ स्थानीयले आशंका व्यक्त गरेका छन् ।
डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख शिव सापकोटाले अनुगमनको प्रतिवेदन बनाउने तयारी भइरहेको बताए । उनले उद्योग र आफूहरुबीच लाभको मिलोभत्तो नरहेको दाबी गरे । माघमा गरिएको अनुगमनको प्रतिबेदन बनाउन कति समय लाग्ने हो भन्ने जवाफ कसैले दिएको छैन । उद्योगको कमी कमजोरी छैन भने पनि त त्यसै अनुसारको प्रतिबेदन सार्वजनिक गर्दा राम्रै हुने स्थानीयको तर्क छ ।



