तेस्रो मेयर कपको उपाधिका लागि हेटौडा ११ र १५ भिड्ने
हेटौंडा – तेस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि हेटौडा उपहानगरपालिका वडा नं. ११ र १५ भिड्ने भएका छन् । हेटौंडा–५ स्थित पिप्ले क्यापा रंगशालामा शनिबार वडा नं. ११ र १५ ले उपाधिका लागि फाइनल खेल्नेछ ।
बुधबार भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर १५ ले वडा नम्बर १४ लाई सडन डेथमा पाखा लगाउँदै फाइनलमा स्थान बनाएको थियो । निकै प्रतिस्पिर्धात्मक खेलको निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल पनाल्टी सुटआउटमा पुगेको थियो ।
पहिलो चरणको पाँचा जनाको पेनाल्टी प्रहारमा वडा नम्बर १४ का ऋषि मोक्तान र अनिष लामा गोल गर्दा १४ नम्बर वडाका लागि प्रताप थोकर र उमेश गोङ्वाले गोल गरे । पेनाल्टी सुटआउटमा २–२ गोलको बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट लिनु पर्यो ।
सडनडेथमा वडा नम्बर १५ का दिपेश रुम्बाले विपक्षी गोलरक्षकलाई छक्याउँदै गोल पोष्टको जाली चुमाउँदा वडा नम्बर १४ का खेलाडीले बललाई सहि दिशा लिन सकेनन् । अपराजित वडा नम्बर १५ उपाधि नजिक पुग्दा वडा नम्बर १४ प्रतियोगिताबाटै बाहिरियो ।
त्यस्तै दोस्रो सेमिफाइनलमा वडा नम्बर ११ ले वडा नम्बर १३ लाई ट्राइब्रेकरमा पराजित गर्दै उपाधि भिड्न्त पक्का गरेको थियो । बिहिबार भएको प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीका खेलाडीले गोल नगरेपछि ट्राइब्रेकरमा धकेलिएको थियो ।
ट्राइब्रेकरमा वडा नम्बर ११ का अभिन लामा र सुवाश लामाले गोल गर्दा ललित चौलागाई र प्रविन राई गोल गर्न चुके । तर, पनि वडा नम्बर ११ को जितमा गोलरक्षक नायक बने । वडा नम्बर १३ का सुनिल थिङ, सुशिल गोले, सुर्य मोक्तान र समेल सुनारको प्रहार विफल बनाएका थिए ।
नगर खेलकुद विकास समितिको आयोजना भएको प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख तथा उपविजेताले १ लाख ५० रुपैयाँ ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सेमिफाइनलबाट आउट हुने दुई टोलीले नगद ५०/५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट खेलाडीलाई नगद ५/५ हजार रुपैयाँ प्राप्त गर्ने नगर खेलकुद विकास समितिले जनाएको छ ।
स्थानीय सरकार गठन भएपछि हेटौंडा उपमहानगरपालिकाले आफ्नै लगानीमा आयोजन गरेको यस प्रतियोगिताको पहिलो र दोस्रो संस्करणको वडा नम्बर १० ले जितेको थियो । जसमा पहिलो सिजनमा वडा नम्बर ९ र दोस्रो सिजनमा वडा नम्बर १८ लाई क्रमशः १–० र ५–० ले पराजित गर्दै उपाधि जितेको थियो । यस संस्करणमा नयाँ मेयर कप विजेता पाउने निश्चित छ ।



