Birgunj News24
मकवानपुरमा नापी भएका स्थानीय तहमा लालपूर्जा वितरण गर्न भूमि अधिकार तथा श्रमिक संगठनको माग

मकवानपुरमा नापी भएका स्थानीय तहमा लालपूर्जा वितरण गर्न भूमि अधिकार तथा श्रमिक संगठनको माग

हेटौंडा । नेकपा (एमाले) निकट भूमि अधिकार तथा श्रमिक संगठन मकवानपुरले जिल्लामा नापी भएका स्थानीय तहमा यथासिघ्र लालपूर्जा वितरण गर्न माग गरेको छ ।

मंगलबार राष्ट्रिय भूमि आयोग मकवानपुर लगाएत विभिन्न सम्बन्धित निकायहरुमा ज्ञापन पत्र बुझाउँदै भूमि अधिकारबाट बञ्चित भूमिहिन दलित, भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण गर्न माग गरेको हो ।

यसैगरी, संगठनले आर्थिक वर्ष २०८०/०८१ को बजेट विनियोजनमा भूमि व्यवस्था सम्बन्धी समस्या समाधानका लागि प्राथमिकताका साथ बजेट व्यवस्था गर्न माग गरेको छ । स्थानीय तहमा नापी नभएका वडाहरुमा छिटोछरितो काम सम्पन्न गर्न अधिकतम दक्ष कर्मचारी व्यवस्थापन गरी काम सम्पन्न माग गरेको छ ।

यस्तै जग्गा नापी नक्सा गर्दा विवाद रहेका स्थानहरुमा सत्य तथ्य छानबिन गरी विवाद समाधान गर्न पनि संगठनले माग गरेको छ ।

संगठनले हेटौंडा उपमहानगरको वडा नम्बर १२, १३ र १४ को साथै मनहरी गाउँपालिकाको नौं वटै वडामा चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको मध्येवर्ती क्षेत्रको जग्गा नापी गर्न रोक लगाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै राष्ट्रिय वन ऐन, नियम समयानुकुल हुनेगरी जनभावना अनुरुप परिमार्जन गरी सो क्षेत्रमा बसोबास गरिरहेकाहरुको लागि जग्गा नापी गरी पूर्जा वितरण कार्यलाई अघि बढाउन माग गरेको छ ।

संगठनले जिल्ला प्रशासन कार्यालय मकवानपुर, राष्ट्रिय भूमि आयोग मकवानापुर, नापी कार्यालय मकवानापुर, मालपोत कार्यालय मकवानपुर, डिभिजन वन कार्यालय मकवानपुर, जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिका प्रमुखलाई ज्ञापन पत्र बुझाएको थियो ।

संगठनले बागमती प्रदेशका मुख्यमन्त्रीलाई पनि ज्ञापन पत्र बुझाउँन गए पनि कार्यालयमा मुख्यमन्त्री नभेटिएपछि ज्ञापन पत्र बुझाउन नसकिएको बताइएको छ ।

संगठनका केन्द्रीय कोषाध्यक्ष सुनिल लोप्चन, जिल्ला अध्यक्ष यज्ञबहादुर श्रेष्ठ, सचिव विष्णु आर्चाय र एमाले हेटौंडा नगर कमिटी अध्यक्ष शालिकराम पुडासैनी लगाएतकाले ज्ञापन बुझाएका थिए ।

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १७:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update