Birgunj News24
भिमफेदी कारागारका कैदीबन्दीलाई कसरी लाग्यो झाडापखाला ? प्रशासक भन्छन – विषाक्त खानाले होइन

भिमफेदी कारागारका कैदीबन्दीलाई कसरी लाग्यो झाडापखाला ? प्रशासक भन्छन – विषाक्त खानाले होइन

हेटौंडा – मकवानपुरको भिमफेदीमा रहेको क्षेत्र क्षेत्रीय कारागारमा एकैपटक २९ जना कैदीबन्दी बिरामी भएका छन् ।जिल्ला प्रहरी कार्यालयम मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीका अनुसार विभिन्न मितिमा सजाय तोकी कारागारमा रहेका २९ जना कैदीबन्दीलाई अचानक झाडा पखला लागेर बिरामी भएका हुन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर र प्राथमिक स्वास्थ्य केन्द्र भिमफेदीको सहयोगमा विरामी कैदीवन्दीहरुको कारागारमै उपचार भइरहेको प्रवक्ता कार्कीले बताए । उनीहरुको उपचारका लागि जिल्ला जनस्वास्थ्यबाट २ जना डक्टर, ४ जना सहयोगी र प्राथमिक स्वास्थ्य केन्द्रबाट १ जना डक्टर, ४ जना सहयोगी गरी ११ जना स्वास्थ्यकर्मी खटिएको उनले बताए । उनका अनुसार हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

स्वास्थ्यकर्मीका अनुसार दुषित पानी पिएमा, सडे गलेको, झिँगा बसेको खाना खाएमा, काँचै खाने तरकारी वा फलफूल सफा नगरी खाएमा, हात नधोई खाना खाएमा दिसामा भएका रोगका जिवाणुहरु पानी, खाना र हातको माध्यमबाट शरीर भित्र प्रवेश गर्दछ र झाडा पाखाला लाग्छ। झाडा पखालाका कीटाणुहरु गर्मी मौसममा बढी सक्रिय हुन्छन्। झाडा पखाला लागेर जलवियोजन भएर मृत्यु नै हुने जोखिम समेत रहन्छ । 

कारागारका कैदीबन्दीहरुलाई के कारण झाडा पखला लाग्यो ? भन्ने बारे कारण खुलाएको छैन । यसअघि क्षमताभन्दा बढी भएका कारण कैदीबन्दीहरु बिरामी हुने गर्थे, तर ११५० भिमफेदी कारागारको क्षमता रहेकोमा हाल ११०८ जना कैदीबन्दी रहेका छन् । तर, कारागार प्रशासक तीर्थ पौडेल विषाक्त खानाको कारण बिरामी भएको स्वीकार गर्न तयार छैनन् । उनले एक सञ्चारमाध्यममा भनेका छन्,‘विषाक्त खानाको कारण बिरामी भएको हो कि भनेर हामीले परीक्षण गर्‍यौं, तर, त्यस्तो केही पाइएन ।’

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  ०५:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update