Birgunj News24
हेटौंडाको विकसित भनिएको वडा नम्बर ४ को सडकको कन्तविजोक

हेटौंडाको विकसित भनिएको वडा नम्बर ४ को सडकको कन्तविजोक

हेटौंडा – ‘हामी बोल्ने मात्र होइन गर्छौँ, ५ वर्षमा वडाको मुहार फेर्छौ ।’ भनेका नविन सिग्देल दोस्रो कार्यकालका लागि हेटौंडा उपमहागरपालिका वडा नं.४ को वडाध्यक्षमा निर्वाचित भए, तर ‘पुरानो भएर उप्किएका सडकको कालोपत्रे भने फेरिएन’ भनेर स्थानीयहरु चिन्तित भएका छन् ।

हेटौंडा–४ अधिकांश सडकहरु जिर्ण बनेपछि स्थानीय र प्रदेश सरकारको सक्रियताका पुनः निर्माण सुरु गरिएको थियो । वडा नम्बर ४ क्षेत्रमा सडक पूर्वाधार निर्माण सुरु गरेको चार बर्ष वित्दा समेत अधिकांश सडकहरु अलपत्र अवस्थामा रहेको छ ।

स्थानीय चुनाव अगाडी हुप्राचौर क्षेत्रको सडक निर्माणको काम तिब्रगतिमा भएको थियो । चुनाव सकिएको बर्षदिन वित्दा समेत सडक कालोपत्रे सम्पन्न हुन सकेको छैन ।

घाम लाग्दा धुलो र पानी पर्दा सडक जलमग्न हुँदा स्वास्थ्य समस्यसंगै दुर्घटनाको जोखिम समेत मोल्नु पर्ने बाध्यता रहेको स्थानीयहरु बताउँछन् । सडक हिलाम्मे र धुलाम्मे भएकै कारण व्यापार समेत कमी आएको स्थानीय व्यवसायीहरुको गुनासो छ ।

स्थानीय र प्रदेश सरकारको जनप्रतिनिधिहरुलाई बारम्बार ताकेता गर्दा पनि सडक निर्माणले तिब्रता पाउन नसकेको हेटौंडा ४ निवासी लवराज ठकुरीले गुनासो पोखे ।बर्षायामसंगै सडक कालोपत्रेको काम सुरु भएपनि गुणस्तरीय नभएको उनको भनाई छ ।

पशुपति मन्दिर क्षेत्रको सडक निर्माण नगरपछि निर्माण कम्पनीलाई कारवाही गरेर पुनः बोलपत्र आह्वान गरी कालोपत्रे धमाधम भइरहेको वडाअध्यक्ष नविन सिग्देलले बताए । यही जेष्ठ १५ भित्र मापदण्ड अनुसार कालोपत्रेको काम सकिने उनको दाबी छ ।

जेष्ठ महिनाभित्र पारिजातपथ र ब्रम्ह्मा दीप अगाडिको सडकको काम सकिने, साथै हेटौंडा क्याम्पस सडकमा पानी जम्ने समस्या समाधान हुने वडाअध्यक्ष सिग्देलले बताए । उनले गदोई सडक आउँदो मंसिरभित्र निर्माण सक्ने गरी सम्झौता भएको बताए ।

‘यो बर्ष ८ किलोमिटर सडक स्ल्याब र कालोपत्रे हुन्छ, मेरो विरोध गर्नेहरु हिला, धुलो, पानीमा टेक्छु भने पनि पाउँदैनन्,’ उनले भने, ‘ मंसिरपछि मेरो आलोचना गर्नेहरु प्रशंसा गर्न तयार भए हुन्छ ।’

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update