Birgunj News24

वीरगञ्जमा ५० प्रतिशतले बढ्यो व्यवसाय दर्ता

व्यवसाय दर्ताका लागि वीरगञ्जमा टोली परिचालन, बढ्यो राजश्व

वीरगञ्ज, १९ बैशाख

वीरगञ्ज महानगरपालिकामा व्यवसाय दर्ता गर्नेको संख्यामा उल्लेख्य बृद्धि भएको छ । 

जुनसुकै व्यवसाय विना दर्ता संचालन गर्न कडाई गरेपछि दर्ता गर्नेको संख्या बृद्धि भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले बताउनुभयो । 

व्यवसाय दर्ता महानगरका लागि दिगो आयस्रोत भएको र यसले राष्ट्रिय राजश्वमा समेत महत्वपूर्ण भूमिका खेल्ने भएकाले जुनसुकै व्यवसाय संचालन गर्न महानगरमा दर्ता अनिवार्य गरिएको उहाँले बताउनुभयो । 

गएको आर्थिक वर्ष २०७५÷०७६ मा ४ हजार ३ सय ७७ व्यवसाय दर्ता भएकोमा चालु आर्थिक वर्ष २०७९÷०८० को बैशाख १५ सम्म आइपुग्दा त्यो संख्या ५० प्रतिशतले बढेर ६ हजार ५ सय ८३ पुगेको महानगरको तथ्यांकले देखाएको छ । 

पछिल्लो ४ वर्षमा व्यवसाय गर्नेको संख्या २ हजार २ सय ६ थपिएका छन् । व्यवसाय दर्तालाई प्रभावकारी बनाउन अहिले महानगरपालिकाले छुट्टै टोली नै परिचालन गरेको छ । स्थलगत रुपमै पुगेको टोलीले उद्योग तथा पसलमै पुगेर व्यवसाय नविकरण तथा नयाँ दर्ता गर्ने गरेको छ ।  

व्यवसाय दर्ताको संख्या बढेसँगै राजश्व संलकनमा समेत बृद्धि भएको छ ।  

गत आर्थिक वर्षमा १ करोड ८४ लाख रुपैयाँ राजश्व संकलन भएकोमा चालु आर्थिक वर्षको बैशाख १५ गतेसम्ममा २ करोड १४ लाख रुपैयाँ संकलन भइसकेको महानगरका राजश्व शाखा प्रमुख मनोज कुमार कर्णले जानकारी दिनुभयो ।

यसमा व्यवसाय करको हिस्सा औसतमा ५ प्रतिशत भन्दा बढी रहेको पनि उहाँले बताउनु भयो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update