Birgunj News24

हेटौंडा – मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले स्थानीयको सुरक्षाका लागि स्थानीयको घरघरमा चट्याङ निरोधक यन्त्र ‘अर्थिङ’ जडान गर्ने भएको छ । चट्याङको उच्च जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाले अनुदानमा चट्याङ(इलेक्ट्रिक चार्ज) निरोधक यन्त्र जडान गर्न लागेको हो ।

प्रतिपरिवार अर्थिङ गर्न १२ हजार रुपैयाँ लाग्छ । जसमा गाउँपालिकाले प्रतिपरिवार ५ हजार रुपैयाँ अनुदान उपलब्ध गराउनेछ भने बाँकी ७ हजार रुपैयाँ निवेदकले नै बेहोर्नुपर्नेछ । तोकिएकै रकमबाट लाभग्राहीहरुलाई १ लाख रुपैयाँ बराबरको प्राकृतिक प्रकोपजन्य दूर्घटना बिमासमेत गराइने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले विपद व्यवस्थापनको लागि छुट्याएको ५० लाख रुपैयाँ बजेटमध्येबाट चट्याङ निरोधक यन्त्र जडानमा अनुदान दिन लागिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । यन्त्र जडानपश्चात १० वर्षसम्म मर्मत सम्भारको काम आपूर्तिकर्ता कम्पनीले नै गर्नेगरी सम्झौता गरिएको मल्लले बताए ।

यन्त्र जडानका लागि पालिकाले गत चैत १२ गते सूचना जारी गरेको थियो । हालसम्म एक सय ८२ परिवारले यन्त्र जडानको लागि निवेदन दिएको बताईएको छ । गाउँ विपद व्यवस्थापन समितिको बैठकबाट लाभग्राही छनौट गरी कार्यान्वयनमा जाने र यस कार्यक्रमलाई निरन्तरता दिदै लगाजने पनि गाउँपालिकाले जनाएको छ ।

राक्सिराङ मकवानपुरको चट्याङको उच्च जोखिम क्षेत्र हो । त्यहाँ चट्याङका कारण बर्षेनी जनधनको क्षति हुने गरेको छ । गाउँपालिकाले अनुदानमा चट्याङ निरोधक यन्त्र जडान गर्ने कार्यक्रम ल्याएसंगै त्यहाँ स्थानीयहरु खुशि भएका छन् ।

के हो अर्थिङ ?

विज्ञानशास्त्रहरुका अनुसार अर्थिङमा एकप्रकारको ‘इलेक्ट्रिक यन्त्र’ जडान गरिएको हुन्छ। चट्याङबाट बच्न घरको बिजुली प्रवाह हुने ‘वायरिङ’मा विशेष ध्यान दिनुपर्छ। यसका लागि ‘अर्थिङ’ उपयुक्त माध्यम हो, जसले घरमा चुहावट भएको करेन्टलाई बाहिर जमिनसम्म पुग्न दिँदैन। अर्थिङमा एकप्रकारको ‘इलेक्ट्रिक यन्त्र’ जडान गरिएको हुन्छ। ‘अर्थिङ’ले बिजुली चम्किँदा निस्केको करेन्ट र घरको करेन्ट जोडिन दिँदैन। जसले गर्दा घर सुरक्षित हुन्छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  २२:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update