Birgunj News24
१८६ धारा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण

१८६ धारा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण

हेटौंडा – हेटौंडा उपमहानगरपालिका–१८, हर्नामाडीस्थित ठूलोदमारमा रहेको हर्नामाडी डीप बोरिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अन्तर्गतका १८६ वटा धारा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ । एक कार्यक्रमकाबीच उपभोक्ता समिति अध्यक्ष रामकृष्ण बानियाँले बोर्ड अध्यक्ष प्रताप विष्टलाई सम्पूर्ण कागजातसहित स्वामित्व हस्तान्तरण गरेका हुन् ।

त्यहाँका जनताले हेटौंडा उपमहानगरले खानेपानी बोर्डमार्फत उपलब्ध गराउँदै आएको दशहजार लिटर निःशुल्क पानी उपभोग गर्न पाएका थिएनन् । अब हर्नामाडी डीप बोरिङ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बोर्डमा हस्तान्तरण भएसंगै १८६ वटा धाराका उपभोक्ताले उपमहानगरले प्रदान गर्दै आएको सहुलियत उपभोग गर्न पाउनेछन् । हाल उपभोक्ता समितिमार्फत् धारा जडान गर्दा दशहजार रुपैयाँ तिर्दै आएका उपभोक्ताले अब ३८ सय ५० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

हस्तान्तरण कार्यक्रममा हेटौंडामा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, वडाअध्यक्ष अनिलकुमार बानियाँ, पूर्वगाविस अध्यक्ष शिवबहादुर रिजाल, बोर्ड सदस्य इन्द्रप्रसाद नेपाल, बोर्ड कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटा तथा हर्नामाडी सहलगानी खानेपानी समिति अध्यक्ष केशव पण्डितलगायत उपस्थित रहेको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  ०२:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update