वीरगञ्ज । पर्सामा सशस्त्र प्रहरीले श्रोत नखुलेको नगद २० लाख रुपैयाँ र दुई क्वीन्टल काजुसहित एक जनालाई पक्राउ गरेको छ ।
पर्साको पोखरीरया नगरपालिका वडा नम्बर ३ बसतपुरमा बुधबार दिउँसो सशस्त्र प्रहरीले सीमावर्ती भिस्वाबाट वीरगञ्ज आउँदै गरेको नम्बर प्लेट नभएको ट्रयाक्टर रोकेर चेकजाँच गरेको थियो ।
त्यसक्रममा ट्रयाक्टरको टेलरमा लुकाएर राखिएको २० लाख रुपैयाँ नगद र राजश्व छलेर भित्र्याइएको २ क्वीन्टल काजु बरामद भएको सशस्त्र प्रहरी उपरिक्षक सुमन थपलियाले जानकारी दिए ।
श्रोत नखुलेको रकम र राजश्व छलेर भित्र्याइएको काजुसहित ट्रयाक्टरका चालक पर्साकै धोबिनी गाँउपालिका वडा नम्बर ५ घर भएका अलिम मियाँ अन्सारीलाइ पनि नियन्त्रणमा लिइएको थपलियाले बताए । बरामद काजुको बजार मुल्य करिब २ लाख रुपैयाँ रहेको छ ।
नगद रकम, काजु र ट्रयाक्टर सहित नियन्त्रणमा लिइएका चालक अन्सारीलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुधबार नै साँझ बुझाइएको जानकारी थपलियाले दिए ।


