वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा खोज्ने अभियानलाई निरन्तरता दिएको छ । बुधबारदेखि सुरु भएको अभियान बिहीबार दोस्रो दिन पनि महानगरले निरन्तरता दिएको हो ।
अभियान अन्तर्गत बिहीबार ९ विघा १३ कट्टा अतिक्रमणमा परेको जग्गा नापजाँच गरेर छुट्याइएको छ । वीरगञ्ज महानगरपालिकासंगै जोडिएको पर्सागढी नगरपालिका वडा नम्वर ४ भेडाहा टोलमा ९ विघा १३ कट्ठा जग्गा नापजाँच गरेर सीमांकन गरिएको गुठी संस्थान कार्यालय पर्साका प्रमुख चुडामणी घिमिरेले जानकारी दिए ।
टोलीले बुधबार ११ विघा १३ कट्ठा नापजाँच गरेर सीमांकन गरेको थियो । बिहीबार सीमांकन गरिएको जग्गामा एउटा बस्ती नै बसेको छ । यहाँ झण्डै २ सय भन्दा बढी घर टहरा रहेको भेटिएको छ ।
जग्गा छुट्याउन जीपीएस, नक्सा तथा आवश्यक सामग्रीसहित टोली फिल्डमा पुगेको थियो । संस्थानले आफ्नो जग्गा नापजाँच गरिदिन आग्रह गरेपछि वीरगञ्ज महानगरपालिकाले प्राविधिक टिम र आवश्यक जनशक्ति खटाएर जग्गा छुट्याउने काम गरेको हो ।
महानगरले अहिले सार्वजनिक तथा ऐलानी जग्गा खोजी अभियान नै चलाएको बेला गुठी संस्थानले पनि आफ्नो जग्गा खोजी गरिदिन आग्रह गरेपछि महानगरले वीरगञ्ज र यस आसपास रहेका गुठीका जग्गा खोजी गरी सीमांकन गर्न सहयोग गरेको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए । उनकाअनुसार अहिले महानगरको ३२ वटै वडामा सार्वजनिक तथा ऐलानी जग्गाका साथै गुठीको जग्गा खोजी गर्ने अभियान सञ्चालित छ । कहीँकतै अतिक्रमण भएको सूचना भए महानगरलाई जानकारी दिन पनि मेयर सिंहले आग्रह गरेका छन् ।
गुठीको जग्गा खोज्न संस्थानको पर्सा प्रमुख चुडामणी घिमिरे आफै फिल्डमा खटिएर नापजाँच गराइरहेका छन् । उनकै नेतृत्वमा गएको टोलीले २ दिनमा २१ विघा ६ कट्ठा जग्गामा सीमांकन सकेको हो । घिमिरेकाअनुसार जग्गा खोज्ने अभियान निरन्तर जारी रहने छ ।
जग्गा नापजाँच गर्न गुठी संस्थान पर्साका प्रमुख घिमिरेसँग महानगरपालिकाका सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुषाल, अमिन देवलाल प्रसाद, उमेश प्रसाद साह, नथुनी मण्डल, अनिल पंडित र सुरेन्द्र ठाकुरसहितको टोली खटिएको थियो ।



