वीरगञ्ज । बारा जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्र बाहिरिएपछि परिक्षा केन्द्रका अध्यक्षसहित ५ जनालाई निलम्बन गरिएको छ ।
एसईईको आज पहिलो दीन परीक्षा सुरु भएको केहि समयभित्रै बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माद्यामिक विद्यालयबाट अंग्रेजी विषयको प्रश्नपत्र बाहिरिएपछि स्थानीय प्रशासनले त्यहाँको परिक्षा केन्द्रको जिम्मवारी पाएका केन्द्राध्यक्ष, दुई जना सहायक केन्द्राध्यक्ष र दुईजना परिक्षा निरीक्षकलाई निलम्बन गरेको हो ।
बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नवराज सापकोटाकाअनुसार निलम्बित हुनेमा केन्द्राध्यक्ष दिनेश प्रसाद साह, सहायक केन्द्राध्यक्षद्वय पदम राज चौधरी र विजय प्रसाद चौधरी र प्रश्नपत्र आउट भएको कक्षाकोठामा खटिएका निरीक्षकद्वय कुन्दन प्रसाद कुशवाह र श्याम किशोर गुप्ता रहेका छन् । एसईई परिक्षा चलेसम्म उनीहरुलाई सबै जिम्मेवारीबाट निलम्बन गरिएको सीडीओ सापकोटाले बताए ।
‘परिक्षा केन्द्रमा उहाँहरुले लापरवाही गरेको भेटेपछि कारवाही गरेका छौं । मोबाइल फोन परिक्षा केन्द्रमा निषेधित गरिएको भएपनि केन्द्राध्यक्ष लगायतका व्यक्तिहरुको लापरवाहीका कारण मोबाइल फोनको प्रयोगबाट प्रश्नपत्र आउट भयो । यस्तो गम्भीर त्रुटी भएपछि कारवाही स्वरूप उहाँहरुलाई परिक्षा अवधि भरका लागि सबै जिम्मेवारीबाट निलम्बन गरिएको छ,’ सिडीओ सापकोटाले द नेपाल टपसँगको टेलिफोन संवादमा भने ।
शुक्रबार एसईईको पहीलो दीन विद्यार्थीहरुले अंग्रेजी विषयको प्रश्नपत्र पाएको १५ मिनट भित्रै परिक्षा केन्द्रको २ नम्बर कोठाबाट एकजना विद्यार्थीले ह्वाट्सएप र फेसबूक मार्फत प्रश्नपत्र आउट गरेका थिए । विद्यार्थीले आफू ट्यूसन् पढ्ने शिक्षकलाई प्रश्नपत्र पठाएको सिडिओ सापकोटाले बताए ।
उनले भने, ‘विद्यार्थीले परिक्षा केन्द्र बाहिरै उभिरहेका आफ्ना ट्यूसन् टिचरलाई ह्वाट्सएपको माध्यमले प्रश्नपत्र पठाएका रहेछन् । शिक्षकले प्रश्नपत्र पाएपछि केन्द्र बाहिर भिडभाड भयो, हल्ला सुरु भयो । केही बेरमै प्रहरीलाई यस विषयमा जानकारी पाएपछि प्रश्नपत्र आउट गर्ने विद्यार्थीको खोजि गरेर उसलाई परिक्षा दिनबाट रोकियो ।’
प्रश्नपत्र आउट गर्ने विद्यार्थीको अंग्रेजी विषयको परिक्षा रद्द गरिएको सापकोटाले जानकारी दिए । विद्यार्थीले केहि लेख्नु अगावै उसको उत्तर पुस्तिका प्रहरीले खोसीसकेको कारण एउटा विषयको परिक्षा मात्र रद्द गरिएको उनले बताए । ‘विद्यार्थीले खासै केहि लेखेको रहेनछ । प्रहरीले तुरुन्तै कारवाही गरेर उनको ऊतरपुस्तिका खोसेको थियो । विद्यार्थीसँग प्रश्नपत्र मगाउने व्यक्तिको पहिचान हामीले गरेका छौं । उसको खोजी कार्य भइरहेको छ,’ उनले भने ।



