वीरगञ्ज । रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव सोही क्षेत्रबाट चुनाव लडेर संसद प्रवेश गर्ने दाउमा छन् । बैशाख १० गते हुने उपनिर्वाचनमा रामसहायकै क्षेत्रबाट चुनाव जितेर संसद प्रवेश गर्ने उपेन्द्रको दाउमा जनमत पार्टी बाधक बन्ने देखिएको छ ।
उपेन्द्रलाई जसरी पनि हराउने रणनीतिअनुरुप जनमत पार्टीले रामसहायसँगै झिनो मतान्तरले पराजित भएका नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहालाई पार्टीमा भित्र्याएको छ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले शिवचन्द्र कुशवाहालाई नै उपनिर्वाचनका लागि बारा–२ को उम्मेदवार बनाउन पार्टीमा भित्र्याएको हो । यसपटक माओवादी केन्द्रले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएपछि कुशवाहा जनमतमा प्रवेश गरेका हुन् ।
बुधवार नै रिपोर्टस क्लबको केन्द्रीय कार्यालयमै पत्रकार सम्मेलनको आयोजना गरी जनमत पार्टीले कुशवाहाको उम्मेदवारी पनि घोषणा गरेको छ । यसअघि कुशवाहा बारा २ मा माओवादी–कांग्रेसको गठबन्धनबाट चुनाव लडेका थिए । उनी जसपाका रामसहाय यादवसँग ३ सय ५४ मतले पराजित भएका थिए ।
बारा २ मा एमाले–जसपा गठबन्धनबाट चुनाव लडेका रामसहाय यादव १३ हजार ८ सय २२ मत ल्याएर विजयी भएका थिए भने कुशवाहाले १३ हजार ४ सय ६८ मत ल्याएका थिए । त्यसैले पनि जनमत पार्टीले उनलाई आफ्नो पार्टीमा ल्याएर जसपाका अध्यक्ष उपेन्द्र यादवसँग प्रतिस्पर्धा गर्न लगाउने तयारी गरेको हो ।



