Birgunj News24
वीरगञ्जका २ जना क्रिकेट खेलाडीलाई प्रोत्साहनस्वरुप मोटरसाइकल दिने मेयर सिंहको उद्घोष

वीरगञ्ज, ३ चैत । विश्वकप क्रिकेटमा देशलाई क्वालिफायर छनोटमा पु-याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका वीरगञ्जका २ जना खेलाडीलाई वीरगञ्ज महानगरका प्रमुख (मेयर) राजेशमान सिंहले पुरस्कारको घोषणा गरेका छन् ।

आईसीसी क्रिकेट विश्वकप लिग २ को खेलमा ओपनिङ ब्याट्सम्यान आसिफ शेष र अलराउण्डर आरिफ शेषले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै मेयर सिंहले दुबैलाई पुरस्कार स्वरुप एक÷एक थान मोटरसाईकल प्रदान गर्ने बताएका हुन् ।

राष्ट्रको शीर उच्च बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीलाई बधाई तथा शुभकामना दिँदै सिंहले प्रतियोगितामा सहभागि वीरगञ्जका दुबै जना खेलाडीले प्रदर्शन गरेको खेल वीरगञ्जकै लागि गौरबको विषय भएको बताए । उनले राष्ट्रका गहनालाई सम्मान र प्रोत्साहन गर्नु सबै तहका सरकारको उत्तिकै दायित्व रहेकाले आफूहरुले वीरगञ्जका उर्जावान खेलाडीलाई थप हौसला बढाउन पुरस्कार दिन लागेको बताए ।

‘खुशी र गौरवको यस क्षणमा आगामि दिनमा अझ राम्रो प्रदर्शनको अपेक्षा राख्दै दुबै खेलाडीलाई थप प्रोत्साहन र हौसला बढाउन महानगरपालिकाको तर्फबाट यामाहा कम्पनिको एफजेड–एफआई मोटरसाईकल एक÷एक थान प्रदान गर्ने घोषणा गर्छु ।’

मेयर सिंहले एउटा प्रेस विज्ञप्ती जारी गर्दै भनेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ निवासी आरिफ र आसिफ सहोदर दाजुभाई हुन् ।

 

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  १८:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update