Birgunj News24
पर्सा प्रहरी र वीरगञ्ज हेल्थ केयरबीच थुनुवा तथा प्रहरीलाई निःशुल्क स्वास्थ्य सेवा दिने सम्झौता l

वीरगञ्ज, असोज १
जिल्ला प्रहरी कार्यालय पर्सा र वीरगञ्ज हेल्थ केयर अस्पताल प्रा.लि.बीच न्यायिक हिरासतमा रहेका थुनुवा तथा प्रहरी कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौताअनुसार जिल्ला प्रहरी कार्यालय पर्सा, मातहतका प्रहरी कार्यालय तथा न्यायिक हिरासतमा रहेका थुनुवा र प्रहरी कर्मचारीको प्रत्येक शुक्रबार दिउँसो २ बजेदेखि ५ बजेसम्म निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ। स्वास्थ्य परीक्षणका लागि वीरगञ्ज हेल्थ केयर अस्पतालका चिकित्सक तथा आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था गरिनेछ।
सम्झौतामा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक पवन कुमार भट्टराई, प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्ल तथा वीरगञ्ज हेल्थ केयर अस्पतालका अध्यक्ष डा. अब्दुल हैस अन्सारी र प्रमुख प्रशासनिक अधिकृत भूमिका अधिकारीले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार स्वास्थ्य परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएका थुनुवा तथा प्रहरी कर्मचारीलाई नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले निर्धारण गरेको दररेटअनुसार उपचार सेवा उपलब्ध गराइनेछ।
यस्तै, अस्पतालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सञ्चालन हुने आमा सुरक्षा, खोप तथा डायलाइसिस कार्यक्रमबाट नियमअनुसार प्राप्त हुने सेवा तथा सुविधा निःशुल्क उपलब्ध गराइने व्यवस्था गरिएको छ।
क्यान्सर, कार्डियक तथा स्पाइनल इन्जुरीलगायतका रोगको उपचारका लागि विपन्न नागरिक उपचार कार्यक्रम अन्तर्गत नियमानुसार एक लाख रुपैयाँसम्मको उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था पनि सम्झौतामा समेटिएको छ।
न्यायिक हिरासतमा रहेका थुनुवालाई आकस्मिक स्वास्थ्य परीक्षण वा उपचार आवश्यक परेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सा र वीरगञ्ज हेल्थ केयरबीच समन्वय गरी चिकित्सक उपलब्ध गराइनेछ। आकस्मिक स्वास्थ्य परीक्षण समेत निःशुल्क गर्ने व्यवस्था गरिएको छ।
सम्झौता २०८२ साल भदौ ३१ गतेदेखि लागू हुने र दुई वर्षसम्म कायम रहने उल्लेख छ। दुवै पक्षको सहमतिमा सम्झौता नवीकरण गर्न सकिने छ।
सम्झौताका मुख्य बुँदा :
प्रत्येक शुक्रबार दिउँसो २ देखि ५ बजेसम्म निःशुल्क स्वास्थ्य परीक्षण
न्यायिक हिरासतका थुनुवा तथा प्रहरी कर्मचारीलाई स्वास्थ्य सेवा
थप उपचार आवश्यक परे स्वास्थ्य बीमा बोर्डको दररेट अनुसार उपचार
आमा सुरक्षा, खोप तथा डायलाइसिस कार्यक्रमअन्तर्गत नियम अनुसार निःशुल्क सेवा
क्यान्सर, कार्डियक तथा स्पाइनल इन्जुरी उपचारमा एक लाख रुपैयाँसम्म सहुलियत
आकस्मिक स्वास्थ्य परीक्षण तथा उपचारमा समन्वय र निःशुल्क परीक्षण
सम्झौताको अवधि दुई वर्ष

प्रकाशित मिति: बिहीबार, असोज १, २०८३  १८:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update