बाराको कलैया उपमहानगरपालिका–२३ स्थित कलैया–वीरगञ्ज सडकखण्डमा सुमोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
मिति २०८३ भदौ २५ गते राति करिब ९ः१० बजेको समयमा वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना.१ ज ६४०३ नम्बरको सुमो गाडीले गार्डेन भ्यु रिसोर्ट नजिकै नाम, थर र वतन नखुलेका अन्दाजी २२/२३ वर्षीय पुरुष पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया, बारा पठाइएको थियो। त्यहाँबाट थप उपचारका लागि परवानीपुरस्थित एलएस न्यूरो अस्पताल पठाइएकोमा राति १०ः३५ बजे उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको शव हाल एलएस न्यूरो अस्पतालमा राखिएको छ। दुर्घटनामा संलग्न सुमो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन। मृतकको उचाइ करिब ५ फिट ६ इन्च, शरीर पातलो, दायाँ हातमा बाला लगाएको, कालो भेस्ट र निलो पाइन्ट लगाएको अन्दाजी २२/२३ वर्षीय पुरुष रहेका छन्।
मृतकलाई चिन्नुहुने व्यक्ति वा आफन्तजनलाई जिल्ला प्रहरी कार्यालय बारा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।
सम्पर्क नम्बर: ९८५५०४८१०१, ९८५५०४५१०१, ९८५५०४५७६६


