काठमाडौं,२३ भदौ । सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन्।
दुवै कम्पनीले संयुक्त रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका हुन्। कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिवस न्यौपाने, सञ्चालक टीकाराम न्यौपाने, पूर्वसञ्चालक विमल कुमार सावर्थिया र तेन्जिन लाक्देन, प्रमुख सञ्चालन अधिकृत नवीन प्रकाश अधिकारी तथा कम्पनी सचिव कमल कुमार भारतीले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेमार्फत सहयोग रकम हस्तान्तरण गरेका हुन्।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउनुका साथै उद्धार तथा पुनःस्थापनाका काममा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार उद्धार कोषमार्फत परिचालन हुने उक्त सहयोगले बाढी प्रभावित परिवारको तत्कालीन राहत तथा पुनःस्थापनामा योगदान पुग्ने अपेक्षा गरिएको छ।
सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा समुदाय केन्द्रित विभिन्न सामाजिक गतिविधिमा समेत सहयोग गर्दै आएको जनाएका छन्। कम्पनीहरूले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।


