वीरगन्ज,२३भदौं : पर्साको पर्सागढी नगरपालिका–२ हरपुर गोडपसरा जाने जिरात बाटोबाट प्रहरीले पक्राउ गरेका काठ तस्कर हत्कडीसहित फरार भएका छन्।
मंगलबार बिहान करिब ५ बजेको समयमा जिरात क्षेत्रमा काठ तस्करहरूले साइकलमा करिब १० थान काठ ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी मनवाबाट खटिएको प्रहरी टोलीले एक जनालाई काठ र साइकलसहित नियन्त्रणमा लिएको थियो।तर अरु तस्करहरू भने फरार भएका थिए।
पक्राउ परेका व्यक्तिलाई प्रहरीले हत्कडी लगाएर काठ बरामद गरिएको स्थानमा राखेको थियो। बरामद काठ प्रहरी चौकी लैजान ट्याक्टरमा लोड गर्ने क्रममा प्रहरीको आँखा छलेर उनी हत्कडीसहित फरार भएको प्रहरीले जनाएको छ।
फरार भएका तस्करको खोजीका लागि बिहानैदेखि जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका प्रहरी टोलीले सम्भावित स्थानहरूमा खोजी कार्य तीव्र बनाएको जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
केही महिना अगाडि मात्र प्रहरीकै लापरवाहिले बडनिहार प्रहरि चौकी बाटै एक जना काठ तस्कर हत्कडि सहित फरार भएको घटना सेलाउन नपाइदै पुन मनवा प्रहरी चौकीका प्रहरीको लापरबाहीले यो दोश्रो घटना भएको छ ।


