वीरगन्ज, भदौ २३। प्याब्सन वीरगन्जको आयोजनामा सञ्चालित अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ को सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ। फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै रोयल एकेडेमीले १७० अंकसहित प्रथम स्थान हासिल गर्दै उपाधि जितेको छ।
वीरगन्जस्थित डिएभी स्कुलमा मंगलबार सम्पन्न फाइनलमा पाँच विद्यालयबीच प्रतिस्पर्धा भएको थियो। फाइनलमा गोल्डेन फ्युचर सेकेन्डरी स्कुल, मास्कट एकेडेमी, साउथ जोन सेकेन्डरी स्कुल, रोयल एकेडेमी र ज्ञानज्योति माध्यमिक विद्यालय सहभागी थिए।
रोयल एकेडेमीले १७० अंक प्राप्त गर्दै प्रथम हुँदा साउथ जोन सेकेन्डरी स्कुल र ज्ञानज्योति माध्यमिक विद्यालयले समान १६५ अंक प्राप्त गरेका थिए। समान अंक भएपछि दोस्रो र तेस्रो स्थान निर्धारण गर्न टाइब्रेकर गरिएको थियो। टाइब्रेकरमा ज्ञानज्योति माध्यमिक विद्यालय दोस्रो र साउथ जोन सेकेन्डरी स्कुल तेस्रो भएका छन्।
गोल्डेन फ्युचर सेकेन्डरी स्कुल र मास्कट एकेडेमीले क्रमशः चौथो र पाँचौँ स्थान हासिल गरेका छन्।
प्रतियोगितामा वीरगन्ज प्याब्सनसँग आबद्ध ३१ विद्यालय सहभागी भएका थिए। विभिन्न चरण पार गर्दै उत्कृष्ट प्रदर्शन गरेका पाँच विद्यालय सिनियरतर्फको फाइनलमा प्रवेश गरेका थिए।
प्रतियोगिताका संयोजक तथा प्याब्सन वीरगन्जका सचिव अमित आलोकका अनुसार विद्यार्थीमा ज्ञान, तर्क क्षमता, सामान्य जानकारी तथा स्वस्थ प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
फाइनल प्रतियोगिताको उद्घाटन प्याब्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरी र प्याब्सन वीरगन्जका अध्यक्ष राहुल श्रीवास्तवको संयुक्त अध्यक्षतामा भएको थियो। उनीहरूले माता सरस्वतीको तस्वीरमा माल्यार्पण गरी प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन मधेश प्रदेशका अध्यक्ष गणेश साह रहेका थिए। कार्यक्रमको सहजीकरण प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले गरेका थिए भने स्वागत मन्तव्य प्याब्सन पर्साकी महिला वरिष्ठ उपाध्यक्ष सुशिला साहले गरेकी थिइन्।
कार्यक्रममा प्याब्सनका केन्द्रीय प्राज्ञिक सदस्य डा. हरिशंकर शाह, प्याब्सन मधेश प्रदेशका सल्लाहकार इमामुदिन अहमद, प्याब्सन वीरगन्जका नगर सदस्य विजय बल र सुमित कलवार, वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय, डिएभी स्कुलका राकेश मिश्रा, धनुषाका अध्यक्ष नवलकिशोर साह, लिटल एन्जल्स स्कुलका प्रधानाध्यापक सन्नी पाख्रिनलगायतको उपस्थिति थियो।
यसैबीच, प्याब्सन पर्साले बाढीपीडितका लागि १५ लाख रुपैयाँ सहयोग गरेको छ। प्याब्सन पर्साले संकलन गरेको उक्त रकमको चेक प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको हो। विपद्बाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको प्याब्सन पर्साले जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यालय तथा विद्यार्थीलाई प्रमाणपत्र, मेडल र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीको बौद्धिक क्षमता अभिवृद्धि गर्नुका साथै विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको छ।


