वीरगञ्ज, पर्सा — जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएपछि फरार रहेका पर्साका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–४ तुलसी वर्वा बस्ने ३५ वर्षीय राजवा भन्ने अखिलेश साह तेली रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार नामथर तथा वतन परिवर्तित २०७७/०७८ (प्र.) को जाहेरीले नेपाल सरकार वादी र अखिलेश साह तेली प्रतिवादी रहेको जबरजस्ती करणी मुद्दामा उनलाई मुद्दा नं. ०७७CI-०४०६, लगत नं. ५९१८ अन्तर्गत १० वर्ष कैद तोकिएको थियो। कैद सजाय तोकिएपछि उनी फरार रहँदै आएका थिए।
विशेष सूचनाका आधारमा २०८३ भदौ २० गते दिउँसो करिब १ बजे इलाका प्रहरी कार्यालय भिष्वा बञ्जारी, पर्साबाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घर ठेगानाबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तेलीलाई आवश्यक कारबाहीका लागि पर्सा जिल्ला अदालतमा बुझाउने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लद्वारा २०८३ भदौ २१ गते जारी प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी सार्वजनिक गरिएको हो।


