वीरगञ्ज,२२ भदौ । पथलैया–वीरगञ्ज सडकखण्डअन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ छातापिपरामा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।
सोमबार बिहान पथलैयाबाट वीरगञ्जतर्फ आउँदै गरेको ना।५ च २२७७ नम्बरको कुखुरा बोक्ने पिकअप अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । डिभाइडरमा ठोक्किएपछि पिकअप अर्को लेनमा पुगेको र त्यसपछि सडकमा पल्टिएको थियो ।
दुर्घटनामा वीरगञ्ज महानगरपालिका–३० प्रोसतिपुरका २२ वर्षीय चालक जैमुदिन अंसारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, पिकअपका सहचालक विश्रामपुर गाउँपालिका–९ का २० वर्षीय स्वयमभुला अंसारी घाइते भएका छन् । उनको वीरगञ्जस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार तीव्र गतिका कारण पिकअप अनियन्त्रित भएको प्रारम्भिक अनुमान गरिएको छ ।
घटनास्थलमा पुगेको प्रहरीले आवश्यक मुचुल्का तथा अनुसन्धान प्रक्रिया अघि बढाएको छ भने दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।


