वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवसको अवसरमा श्री कृष्ण प्रणामी युवा परिषद् वीरगञ्ज, पर्साले खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ।
श्री कृष्ण प्रणामी युवा परिषद् वीरगञ्जका अध्यक्ष योगेश यादवको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ७ महिलासहित २३ जनाले रक्तदान गरेका छन्।
रक्तदान गर्नेहरूमा यशोध पोख्रेल, विष्णु वास्तौला, दीपक पोख्रेल, मोहिनी कुमारी, सम्झना गुप्ता, चाँदनी गुप्ता, रजनीश कुमार, अञ्जली कुमारी यादव, नौरतन पाण्डे, उज्ज्वल कुमार सर्राफ, विक्की पाण्डे, अमित कुमार गुप्तालगायत रहेका छन्।
कार्यक्रममा परिषद्का सदस्य, स्थानीय युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले रक्तदान गर्दै मानव जीवन बचाउने अभियानमा योगदान पुर्याएका परिषद्का अध्यक्ष यादवले बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डीएसपी राजु कार्कीले रक्तदान मानव सेवाको महत्वपूर्ण कार्य भएको बताए। उनले नियमित रक्तदानमार्फत आवश्यक परेको समयमा बिरामी तथा दुर्घटनामा परेका व्यक्तिको जीवन बचाउन सहयोग पुग्ने धारणा व्यक्त गरे।
परिषद्का अध्यक्ष यादवले सामाजिक तथा मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए। उनले युवाहरूमा रक्तदानप्रति थप जागरूकता र सहभागिता बढाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै सामाजिक तथा मानवीय सेवामा युवाहरूको सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ।
कार्यक्रममा श्री कृष्ण मन्दिर समितिका अध्यक्ष सञ्जय अग्रवाल, रजनीश कुमार, राहुल रौनियार, निवर्तमान अध्यक्ष सचिन दारुकालगायतको सहभागिता रहेको थियो। रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।


