श्री आदर्श माध्यमिक विद्यालय, आदर्शनगर वीरगञ्जमा विद्यार्थीहरूको पदस्थापना तथा ब्याज वितरण कार्यक्रम सम्पन्न भएको छ।विद्यालयका प्रधानाध्यापक रामविनोद पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं वरिष्ठ उद्योगपति गणेश लाठ, बीपीसी कलेजका हरिरत्न तुलाधर, डा. बासु कर्ण, डा.अरविन्द श्रेष्ठ, मानव सेवा आश्रम वीरगञ्जका देवेश गुप्तालगायत सञ्चारकर्मी, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उपस्थिति थियो।
समारोहमा विद्यालयका विभिन्न हाउसका क्याप्टेन तथा कक्षा मनिटरहरूलाई प्रमुख अतिथि चौधरीसहित अतिथिहरूले ब्याज वितरण गर्दै पदस्थापना गराएका थिए। पदस्थापित विद्यार्थीहरूलाई आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धतासहित सपथसमेत गराइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले विद्यार्थी जीवनमै नेतृत्व क्षमता, अनुशासन र जिम्मेवारीबोधको विकास आवश्यक रहेको बताए। नेतृत्व पद प्राप्त गर्नु मात्र नभई जिम्मेवारी वहन गर्नु पनि भएकाले पदस्थापित विद्यार्थीहरूले इमानदारी, अनुशासन र सहकार्यको भावनासहित आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।
उनले विद्यार्थीहरूले प्राप्त जिम्मेवारीलाई विद्यालयको अनुशासन, शैक्षिक वातावरण तथा सहपाठीहरूको हितमा उपयोग गर्नुपर्ने बताए। विद्यार्थीको व्यक्तित्व विकाससँगै नेतृत्व क्षमता अभिवृद्धिका लागि विद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा सहभागी अतिथिहरूले पदस्थापित विद्यार्थीलाई शुभकामना दिँदै सबैप्रति समान व्यवहार गर्न, शिक्षक तथा अभिभावकको सम्मान गर्न र विद्यालयको गरिमा कायम राख्न आग्रह गरे।
प्रधानाध्यापक पाण्डेले विद्यार्थीको क्षमता तथा नेतृत्व विकासका लागि विद्यालयले अतिरिक्त क्रियाकलापसँगै विभिन्न जिम्मेवारी प्रदान गर्दै आएको बताए। पदस्थापित विद्यार्थीले विद्यालयको अनुशासन र शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने विश्वास उनले व्यक्त गरे।
कार्यक्रमले विद्यार्थीमा नेतृत्व क्षमता, आत्मविश्वास, अनुशासन तथा सामूहिक जिम्मेवारीबोध विकासमा योगदान पुग्ने विद्यालयले जनाएको छ।


