१८ भदौ, वीरगञ्ज । विनाशकारी बाढी तथा पहिरोपछिको विपद्मा परेका नागरिकको उद्धार तथा राहतका लागि वीरगञ्जको प्रतिष्ठित व्यावसायिक घराना चाचान समूह र मारवाडी सेवा ट्रष्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल ५२ लाख ११ हजार रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।
चाचान समूहका अध्यक्ष, वरिष्ठ उद्योगपति तथा समाजसेवी बाबुलाल चाचानले समूहअन्तर्गतका विभिन्न उद्योग तथा प्रतिष्ठानका तर्फबाट ५१ लाख रुपैयाँ एभरेस्ट बैंकमा रहेको उद्धार कोषको खातामा जम्मा गराएका हुन् ।
समूहका अनुसार कुल ५१ लाख रुपैयाँमध्ये नारायणी आयल रिफाइनरीका तर्फबाट ४१ लाख, नारायणी मोर्डन प्लस इन्डस्ट्रिजका तर्फबाट ५ लाख र आदर्श पोली प्लास्टिक प्रा।लि।का तर्फबाट ५ लाख रुपैयाँ सहयोग गरिएको हो ।
सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष चाचानले विपद्को यस कठिन घडीमा पीडित नागरिकको साथमा उभिनु सम्पूर्ण उद्योगी-व्यवसायी तथा नागरिकको सामाजिक दायित्व भएको बताए । “यस्तो दैवी प्रकोप र सङ्कटका बेला हामी सबै नेपाली एकजुट भएर एक(अर्कालाई सहयोग गर्नुपर्छ,” उनले भने, “राज्य र नागरिकमा परेको पीडामा सहयोग पुर्याउनु हाम्रो कर्तव्य हो, आगामी दिनमा पनि आवश्यक सहयोग जारी रहनेछ।”
यसैबिच, मारवाडी सेवा ट्रष्ट वीरगञ्जले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । ट्रष्टका अध्यक्षसमेत रहेका बाबुलाल चाचानले ट्रष्टको तर्फबाट उक्त रकम बराबरको चेक कोषको खातामा जम्मा गराएको महासचिव नरेन्द्र साहले जानकारी दिएका छन् ।


