वीरगञ्ज, १७ भदौ । बाढी–पहिरो प्रभावित, विशेषगरी भोटेकोशी बाढीपीडितको सहयोगार्थ बैंकर्स एसोसिएसन वीरगञ्जले आयोजना गरेको रक्तदान कार्यक्रममा ९ महिलासहित १११ जनाले रक्तदान गरेका छन्।
एसोसिएसनका अध्यक्ष रोहिणी आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दहाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा बोल्दै दहालले विपद्का समयमा रक्तदानजस्तो मानवीय सेवाले रगतको अभाव पूर्ति गर्न महत्वपूर्ण सहयोग पुग्ने बताए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरि गौतम, नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई, युवा नेता अरविन्द सिंहलगायतको उपस्थिति थियो। वीरगञ्जस्थित विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
रक्तदान कार्यक्रमका लागि रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेको प्राविधिक सहयोग रहेको थियो। केन्द्रको टोलीले रक्तदाताको स्वास्थ्य परीक्षणसँगै रक्त संकलनको व्यवस्था गरेको थियो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका कोषाध्यक्ष अभिलाष गुप्ताको समेत विशेष उपस्थिति रहेको थियो।
बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीलाई सामाजिक उत्तरदायित्व र मानवीय सेवामा जोड्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले विपद्को समयमा सहयोग पुर्याउनुका साथै रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्न योगदान गरेको आयोजकको भनाइ छ।


