Birgunj News24
भारततर्फ तस्करी गर्न लागिएको ६० किलो गाँजा अस्पतालको भ्यानबाट बरामद।

१७ भदौ, वीरगञ्ज । विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले बिरामी बोक्ने अस्पतालको भ्यानमा लुकाएर भारततर्फ तस्करी गर्न लागिएको ६० किलो गाँजा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल बीओपी दरैयाबाट खटिएको टोलीले विराटनगर महानगरपालिका–१६ स्थित दरैया कोलर चोकबाट मंगलबार राति करिब ११ बजे गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार ‘दिव्य ज्योति अस्पताल प्रा.लि.’ लेखिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यान शंकास्पद अवस्थामा देखिएपछि सुरक्षाकर्मीले रोक्न खोजेका थिए। तर, चेकजाँचका लागि रोक्न खोज्दा चालकले भ्यान सडकमा नै छाडेर अँध्यारोको फाइदा उठाउँदै फरार भएका थिए।

चालक फरार भएपछि सुरक्षाकर्मीले भ्यानको खानतलासी गर्दा दुईवटा बोराभित्र प्लास्टिकले प्याक गरी राखिएको अवस्थामा करिब ६० किलोग्राम गाँजा फेला परेको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा अस्पतालको नाम र लोगो प्रयोग गरी सुरक्षाकर्मीको आँखा छल्दै गाँजा भारततर्फ तस्करी गर्न खोजिएको हुनसक्ने आशंका गरिएको छ।

बरामद भएको भ्यान र गाँजा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ। फरार चालकको खोजी कार्य भइरहेको छ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०८३  १४:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update